सोमबार, वैशाख १७, २०८१
03:04 | ०७:४९

नारी दिवसमा सांगीतिक प्रस्तुति र अन्तरक्रिया गर्दै गोर्खा सेन्टर

नेपाली लिङ्क मार्च ९, २०२४


लन्डन – बेलायतस्थित कल्याणकारी संस्था द गोर्खा सेन्टरले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा एक सांगीतिक साँझ तथा अन्तरक्रिया गर्न लागेको छ।

आइतबार, १७ मार्चका दिन अपरान्ह ४ बजेदेखि अन्तरक्रिया तथा ६ बजेदेखि चर्चित भारतीय गायक अर्को मुखर्जीलगायतका कलाकारहरुद्वारा सांगीतिक साँझ गरिने द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले बताए। 

हेजस्थित क्लेरेसियन ओएसिस सम्मेलन केन्द्रमा आयोजना गरिने उक्त कार्यक्रमको शुरुमा ‘प्रवासमा नेपाली महिलाका चुनौती तथा अवसरहरू’ बारे छलफल पनि गरिने छ।

उक्त सांगीतिक साँझमा गायक मुखर्जीले आफ्नै मौलिक शैलीमा स्वर्गीय लोकगायक झलकमान गन्धर्वका कालजयी गीत लगायत अन्य थुप्रै पुराना नेपाली लोक–आधुनिक गीतहरु सुनाउने छन्।  उक्त कार्यक्रममा चर्चित सेफ बिनोद बरालको टोलीले मौलिक नेपाली खाना पनि प्रस्तुत गर्नेछन्।

कार्यक्रमको खर्च कटाएर बचेको रकम बेलायतस्थित भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारको सहयोगका लागि खर्च गरिने सिइओ भीम तामाङले बताए। 

द गोर्खा सेन्टरले बेलायतमा उच्च शिक्षाका लागि आएका नेपाली विद्यार्थीहरुलाई सघाउन एक ‘हेल्प डेस्क’ पनि स्थापना गरेको छ।

आयोजकले कार्यक्रममा उत्साहजनक सहभागिताका लागि सबै बेलायतवासी नेपालीलाई अपिल गरेका छन् ।

गत डिसेम्बर महिनामा द गोर्खा सेन्टरले आयोजना गरेको ‘मह जोडी यूके टुर’ निकै सफल भएको थियो।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू