शनिबार, साउन १२, २०८१
02:37 | ०७:२२

डार्टफोर्डका संयोगलाई जापानको प्रिडक्टोरल फेलोसीप

नेपाली लिङ्क फ्रेब्रवरी २८, २०२४

संयोग अधिकारी

लन्डन । लन्डन डार्टफोर्ड निवासी २७ वर्षीय संयोग अधिकारीले आफ्नो विद्यावारिधिको अन्तिम वर्षमा जापानको प्रिडक्टोरल फेलोसीप प्राप्त गरेका छन् ।

उनले भर्खरै जापान सोसाइटी फर द प्रमोसन अफ साइन्सद्वारा अत्यधिक प्रतिष्पर्धी प्रिडक्टोरल फेलोसीप प्राप्त गरेका हुन् ।

फेलोसीप पाएसंगै संयोग तीन महिनाका लागि बिहीबार बिहान जापान प्रस्थान गर्दै छन् ।

संयोगले जापानको इसिकावा प्रान्तस्थित एड्भान्स इन्सटिच्यूट अफ साइन्स एण्ड टेक्नोलोजीमा तीन महिना अध्ययन र कामको अवसर पाउनेछन् ।

युनिभर्सिटी कलेज लन्डनका विद्यार्थी उनी हाल नानोटेक्नोलोजीमा पीएचडी अध्ययनको अन्तिम वर्षमा छन् ।

नानोटेक्नोलोजी एक अन्तरसम्बन्धित क्षेत्र हो जहाँ भौतिकशास्त्री, रसायनशास्त्री, जीवविज्ञानी, इन्जिनियरहरू र कम्प्युटर वैज्ञानिकहरू मिलेर काम गर्छन्।

आफूलाई नयां फिल्ड र ल्याव वर्क मनपर्ने भएर यो विषयमा पिएचडी गरिरहेको उनले बताए । नानोटेक्नोलोजीमा डिग्री प्राप्त गरेपछि एकेडेमियामा करियर बनाउन सहज हुने र धेरै अवसर पाइने उनी बताउंछन् ।

उनको बुझाइमा नानोटेक्नोलोजीले क्षेत्रहरूको विस्तृत दायरालाई समेट्ने र धेरै क्षेत्रमा प्रविधिलाई आमूल परिवर्तन गर्ने क्षमता राख्छ ।

इलेक्ट्रोनिक्स र सेमिकन्डक्टर क्षेत्र जस्तै उड्डयन, एरोस्पेस इन्जिनियरिङ, मेडिकल उपकरण निर्माता र औषधि कम्पनीहरू, रक्षा क्षेत्र, खाना, पेय र कस्मेटिक क्षेत्रका कम्पनीहरूले न्यानो टेक्नोलोजीमा डिग्री होल्डरलाई कामको प्राथमिकता दिने उनले बताए ।

नानोटेक्नोलोजीमा कामको गतिशील प्रकृतिका कारण अध्ययनपछि प्रविधि कम्पनीको परामर्शदाता, निजामति जागिर, पेटेन्ट कानून र वित्त क्षेत्रमा पनि उच्च माग हुने भएर आफूले यस विषय रोजेको संयोगले बताए ।

विद्यालय पढ्नादेखि नै संयोगलाई सधैं विज्ञान, विशेष गरि भौतिक र रसायन विज्ञानमा रुचि थियो । उनले नेपालमा ग्यालेक्सी पब्लिक स्कूलबाट एसएलसी परीक्षा उत्तिर्ण गरे । त्यसपछि उनी यूलियन्स स्कूलमा ‘आइबी’ प्रोग्राममा भर्ना भए जहाँ उनले भौतिकशास्त्र, गणित र रसायनलाई आफ्नो मुख्य विषय बनाए । त्यसपछि उनी आफ्नो परिवारसँग बस्न र पढाइलाई निरन्तरता दिन सन् २०१३ मा बेलायत आए ।

भौतिकशास्त्र पढ्ने आफ्नो इच्छालाई निरन्तरता दिँदै उनले भौतिकशास्त्रमा स्नातकका लागि हर्टफोर्डसायर विश्वविद्यालय भर्ना भए। आफ्नो स्नातक अध्ययनको दौरान उनले ड्याड इन्टर्नको रूपमा जर्मनीको कोब्लेन्ज र ल्यान्डाउ विश्वविद्यालयमा सामग्री विज्ञान अनुसन्धान समूहसँग ६ महिना काम गर्ने अवसर पनि पाए ।

स्नातक पूरा गरेपछि उनले युनिभर्सिटी कलेज लन्डनमा भौतिकशास्त्र र सेक्यूरिटी साइन्स गरि डबल मास्टर्स गरे । उनलाई मास्टर डिग्रीको अन्त्यमा परियोजना पर्यवेक्षकले सुरक्षा र अपराध विज्ञानमा पिएचडी गर्न प्रस्ताव राखेपछि एक वर्षको अनुसन्धान गर्दा गर्दै उनलाई यो विषय मन परेन र नानो टेक्नोलोजी लिएका थिए ।

आमा सम्झना अधिकारी क्षेत्री र बुबा राजकुमार अधिकारी छोराको प्रगतिबाट दंग छन् । छोराछोरीको उज्ज्वल भविष्य बने र प्रगति गरे त्यसैमा आफूहरुलाई गर्व लाग्ने आमा सम्झना बताउंछिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू