शनिबार, वैशाख १५, २०८१
15:25 | २०:१०

सिड्नीमा प्रज्ञाको उपन्यास ‘विषाणु ऋ’ लोकार्पण

नेपाली लिङ्क फ्रेब्रवरी २६, २०२४

सिड्नी । सिड्नीमा विगत पाँच वर्षदेखि अध्ययन गरिरहेकी प्रज्ञा पनेरुको पहिलो उपन्यास ‘विषाणु ऋ’ लोकार्पण भएको छ । २५ फेब्रुअरीका दिन सिड्नीस्थित म्याक्स वेबर पुस्तकालय, ब्ल्याकटाउनमा कृति लोकार्पण भएको हो । विषाणु ऋ उपन्यास समकालीन साहित्य प्रतिष्ठान बेलायतले प्रकाशन गरेको हो ।

ब्ल्याकटाउन सिटी काउन्सिलले सहयोग गरेको सो कार्यक्रममा लेखक प्रज्ञा पनेरु, गजलकार ज्ञानुवाकर पौडेल र त्रिभुवन विश्वविद्यालय नेपाली भाषाकी पूर्व प्राध्यापक गार्गी शर्माले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका थिए ।

‘विषाणु ऋ’ भित्र रहेका विषयवस्तु माथि केन्द्रित भएर लेखक प्रज्ञा पनेरुसँग लेखक सानु घिमिरेले आधा घण्टा लामो पुस्तक वार्ता गरेकी थिइन् । वार्तामा पुस्तक भित्रका विभिन्न घट्नाक्रम, लैगिंक चेतका कुरा, समग्रमा लेखकको भनाई र दृष्टिकोण प्रस्तुत भएको थियो ।

पुस्तकमाथि टिप्पणी गर्दै लेखक तथा समालोचक सुरेन्द्र दवाडीले यो पुस्तक उत्तर आधुनिकीकरणको उत्कृष्ट नमुना भएको बताउँदै पुस्तकभित्र प्रस्तुत भएको मनोवैज्ञानिक पक्ष, साइकोथेरापीको प्रयोगदेखि नेपाली चर्चित साहित्यकार पारिजातको लोकप्रिय उपन्यास ‘शिरिषको फूल’ को पात्रलाई पुनर्लेखन गरि लेखिएको भागलाई मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

सिड्नीका अधिकांश लेखक तथा साहित्यप्रेमीहरु उपस्थितमा भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अस्ट्रेलियाकी निवर्तमान अध्यक्ष ममता तिवारी, अस्ट्रेलियन भुटानी एसोसिएसनका सल्लाहकार तथा भुटान टु ब्ल्याकटाउन पुस्तकका लेखक ओम ढुंगे, गजलकार ज्ञानुवाकर पौडेल तथा पूर्व प्राध्यापक गार्गी शर्माले लेखक प्रज्ञा पनेरु तथा उनको कृति विषाणु ऋलाई शुभकामना दिएका थिए ।

सभापति, प्रमुख अतिथी र विशेष अतिथी बिना अर्ध औपचारिक रुपमा आयोजित सो कार्यक्रमलाई नारीनिकुंज अष्ट्रेलियाकी पूर्व अध्यक्ष तथा लेखक प्रतिज्ञा अधिकारीले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू