आइतबार, जेठ ६, २०८१
19:35 | ००:२०

लन्डनमा सम्पर्कविहिन नेपाली विद्यार्थी बने ‘होमलेस’, उद्धार प्रयास शुरु

नेपाली लिङ्क फ्रेब्रवरी ७, २०२४

लन्डन–लन्डनमा विगत तीन महिनादेखि सम्पर्कविहिन रहेका एक नेपाली विद्यार्थीको खोजी शुरु भएको छ। सहपाठी साथीभाइ र परिवारसमेतको सम्पर्कमा नरहेका मञ्जित राजभण्डारी ‘होमलेस’ बनेको सूचना पाएपछि उनको उद्धार पहल शुरु भएको हो।

लन्डन इष्ट लन्डन युनिभर्सिटीमा अध्ययनका लागि गत सेप्टेम्बर महिनामा लन्डन आएका उनी झन्डै तीन महिनादेखि सम्पर्कविहिन थिए।  

गत सोमबार मात्रै लन्डन वुल्लीच आर्सनल पार्कमा ‘होमलेस’ अवस्थामा भेटिएको थाहा पाएपछि उनका सहपाठी साथीहरुले खोजीको पहल शुरु गरेका हुन्।  

मञ्जितका सहपाठी राजकुमार तामाङले नेपालीलिंकलाई दिएको जानकारी अनुसार मञ्जित युनिभर्सिटीका साथीभाइसँग सम्पर्कमा नरहेको तीन-चार महिना पुगिसक्यो। वीन्टर होलिडेपछि उनी कसैको सम्पर्कमा थिएनन्।  

गत सोमबार मञ्जितलाई चिन्ने कसैले उनलाई वुल्लीच आर्सनल पार्कमा होमलेस अवस्थामा भेटेपछि सहपाठीहरुलाई खबर गरेका थिए। 

मञ्जितले आफू होमलेस बनेको, ट्रेन स्टेसन र पार्कहरुमा सुत्ने गरेको, मोबाइल फोन पनि नबोकेकोजस्ता कुरा बताएको थाहा पाएलगत्तै साथीहरु उनलाई भेट्ने आशामा वुल्लीच पुगेका थिए। तर, उनी त्यहाँ नभेटिएपछि उनीहरुले नेपालमा हेटौंडास्थित मन्जितको परिवारलाई सम्पर्क गरेका थिए।

मञ्जितको परिवारले पनि झन्डै तीन महिनादेखि सम्पर्क नभएको बताएको छ। उनलाई विगतमा मानसिक स्वास्थ्यमा समस्या देखिएको तर निको भएर बेलायत पठाएको परिवारले बताएको छ। 

मञ्जितको खोजीमा जुटेका साथीहरुले उनलाई भेटे वा उनीबारे कुनै जानकारी पाए आफूहरुलाई सम्पर्क गरिदिन आव्हान गरेका छन्।

उनलाई फेला पारेर परिवारकै जिम्मामा नेपाल पठाउने सल्लाह उनको परिवारसँग भएको खोजीमा जुटेका तामाङले नेपालीलिंकलाई बताए।

  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू