शुक्रबार, जेठ ४, २०८१
04:07 | ०८:५२

रुसमा मानवतस्करी रोक्न एनआरएनएद्वारा श्रममन्त्रीको ध्यानाकर्षण

नेपाली लिङ्क फ्रेब्रवरी ३, २०२४


काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रमसंगै बेपत्ता र मृत्यु हुने क्रमपनि बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा बिहीवार मन्त्रालयमा भएको भेटमा संघले गैरकानुनी रूपमा रसिया जाने क्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो ।

संघले विगतदेखि रसियामा काम गर्दै आएका नेपालीहरुको हकमा श्रम नवीकरण र अध्यागमनमा भएको अवरोध हटाई उनीहरुलाई निर्वाध रुपमा आवतजावत गर्ने वातावरण निर्माण गरिदिन पनि अनुरोध गरेको छ ।

संघले यसअघि विभिन्न गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सूचना मस्कोस्थित नेपाली दूतावासलाई दिई मानव तस्करी कम गर्न सहयोग गरेको जानकारी दिएको छ ।

नेपाल सरकारका विभिन्न निकायबीच समन्वयको कमीले गर्दा विगत लामो समयदेखि रसियामा स्थायी रुपमा बसोबास, अध्ययन तथा व्यवसाय गर्ने नेपालीहरुको ठूलो संख्या अप्ठ्यारोमा परेको जनाएको छ । यसरी बसोबास गर्दै आएका नेपालीहरू छुट्टीमा नेपाल आउंदा अध्यागमनबाट रुस जाने नेपालीहरुलाई रोक्ने, श्रम स्वीकृति नगर्ने जस्ता घटनाहरु भइरहेकोप्रति समेत संघले ध्यानाकर्षण गराएको छ ।

भेटमा मन्त्री भण्डारीले एनआरएनए प्रतिनिधिसंग नयाँ गन्तव्य र श्रम बजारको सम्भावनाका विषयमा चासो राख्दै गैरआवासीय नेपालीहरुसंग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

उक्त भेटमा संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङलगायत पदाधिकारीको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू