शनिबार, वैशाख २९, २०८१
18:40 | २३:२५

तमु समाज यूकेद्वारा तमुधिं नेपाल संग्रहालयमा घाटु नाचको प्रतिमा स्थापना

नेपाली लिङ्क जनवरी ४, २०२४


लण्डन- बेलायतको परोपकारी संस्था तमु समाज यूकेले ४ लाख ५० हजार रुपैयां खर्च गरि तमुधिं नेपालको निर्माणाधिन संग्रहालयमा घाटु नाचको प्रतिमा स्थापना गरेको छ ।

समाजले पोखरामा स्थापना हुन लागेको तमु संग्रहालयमा गुरुङहरुको अत्यन्तै महत्वपूर्ण मौलिक घाँटु नाचका दुई घाँटुनीहरुको प्रतिमा स्थापना गरेको हो ।

तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङका अनुसार समाजले उक्त मूर्ति निर्माणका लागि रु. ४ लाख ५० हजार रुपैयाँ खर्चेको छ ।

सङग्रहालय र त्यसभित्र यस किसिमका महत्वपूर्ण वस्तु राख्नुपर्छ भन्ने कुरालाई महत्व दिंदै संस्थापक अध्यक्ष गुरुङले प्रतिमा निर्माणका लागि पोखरास्थित सामाजिक अभियन्ता तथा समाजसेवी मेजर (रि.) लक्ष्मीप्रसाद गुरुङ र तमु समाज यूकेका वर्तमान अध्यक्ष शिवकुमार गुरुङसंग परामर्श गरि सहयोग गर्न सुझाव दिएका थिए । फलस्वरुप तमु समाज यूकेले यस महत्वपूर्ण कार्यका लागि सहयोग गर्ने निर्णय गरयो ।

गुरुङहरुको महान पर्व ल्होछारको उपलक्ष्यमा गत आइतबार उक्त प्रतिमा तमुधिं नेपाललाई हस्तान्तरण गरिएको छ । तमु समाज यूकेका प्रतिनिधि (मिडिया संयोजक) तथा घान्द्रुक समाज यूके अध्यक्ष नारायण गुरुङ नेपाल रहेको मौकामा सो मूर्ति तमुधिं नेपालका अध्यक्ष हुम गुरुङलाई हस्तान्तरण गरिएको हो ।


सोही अवसरमा तमुधिं नेपालका अध्यक्ष गुरुङले सङग्रहालयको महत्वलाई आत्मसात गर्दै तमु समाज यूकेले विदेशमा रहेर पनि तमुहरुको पहिचान जीवन्त राख्न सहयोग गरेकामा आभारसहित धन्यवाद दिए ।

प्रतिमा हस्तान्तरण कार्यक्रममा तमुधिं नेपालका संस्थापक अध्यक्ष कर्मा गुरुङ तथा सहजीकरण गरेका अभियन्ता मेजर (रि.) लक्ष्मीप्रसाद गुरुङ पनि सहभागी थिए ।

गुरुङ संग्रहालय र यसको महत्वबारे प्रष्टयाउंदै तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले वास्तवमा समाजहरुले आफ्नो परम्परा, संस्कार संस्कृति झल्काउने र पहिचान जोगाउने संग्रहालय निर्माण प्रमुख कार्य र दायित्वभित्र पर्ने बताए । उनले संग्रहालयभित्र प्रदर्शनी सामग्रीहरु पनि उत्तिकै महत्व दिएर राख्नुपर्नेमा जोड दिए ।

घाँटु नाच गुरुङहरुको मौलिक नाच हुनुका साथै यसले गुरुङ (तमुहरुको) पहिचान झल्काउने भएकाले घाँटुसँग सम्बन्धित दुई घाँटुनीहरुको प्रतिमा राख्ने निर्णय भएको पनि उनले जनाए ।

करिव १७ औं शताब्दीतिर गण्डकी क्षेत्र तथा मादी र सेती नदीको संगमस्थल आसपासमा घाँटु नाचको सुरुवात भएको जनविश्वास छ ।


तमु समाज यूके १७ वर्ष अघि ३० सेप्टेम्बर २००७ मा लन्डनको वेम्लीमा तमुधिं लण्डन ईकाइको रुपमा स्थापना भएको थियो ।

समय र परिस्थितिका कारण सन् २०१२ जुलाईमा तमु समाज यूके नामाकरण गरी बेलायतको च्यारिटीमा दर्ता भएको यस सामाजिक संस्थाले विदेशी भूमिमा भएपनि आफ्नो भाषा, कला, संस्कृति र पहिचान जोगाउनुका साथै परोपकारी कार्य जस्तै नेपालमा प्राकृतिक विपत्ति, वाढी पहिरो, महाभूकम्प, मृगौला र अन्य रोगबाट पीडितहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।

समाजले तमु संघसंस्थाहरुसंग समन्वय गरि नेपालको शिक्षा, खानेपानी र खेलकुद क्षेत्रमा आवश्यक सहयोग समेत उपलब्ध गराउंदै आएको जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू