शुक्रबार, १९ जुन, २०२६
05:40 | १०:२५

लन्डनकी सक्रिय समाजसेवी चन्द्रदेवी गुरुङको अल्पायुमा निधन

नेपाली लिङ्क जनवरी १, २०२४

लन्डन।बेलायतमा सामाजिक भावनाकी धनी भनेर चिनिएकी समाजसेवी चन्द्रदेवी गुरुङको असमायिक निधन भएको छ।  

क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेकी चेलीबेटी प्रमुख समेत रहेकी गुरुङको ५० वर्षको अल्पायुमा सोमबार बिहान प्लमस्टिडस्थित आफ्नै निवासमा निधन भएको समाजका अध्यक्ष क्या पिताम्बर गुरुङले जानकारी दिए।

आइतबार बेलुका साउथ इष्ट तमुधिंद्वारा आयोजित ल्होछार कार्यक्रमबाट फर्किएर ठीकठाक सुतेकी उनलाई सुतेकै समय हृदयघात भएको पारिवारिक स्रोतले जनाएको छ। 

स्वर्गीय गुरुङ साउथ इष्ट रिजनल तमुधिं लन्डनका पूर्व अध्यक्ष क्या नारायणबहादुर गुरुङ ‘एमभीओ’ की पत्नी हुन्।

बेलायतको तमु र बृहद नेपाली समुदाय समेतमा गुरुङ दम्पत्ति सामाजिक कार्यमा सधैं अग्रसर, मिलनसार र सहयोगी समाजसेवीका रुपमा चिनिंदै आएका थिए।  

कास्की माछापुच्छ्रे गाउँपालिकामा पर्ने धम्पुसफेदीमा जन्मिएकी स्वर्गीय गुरुङ पूर्व गोर्खा श्रीमानसहित विगत लामो समयदेखि बेलायतमा बस्दै आएकी थिइन्।  

समाजका अध्यक्ष क्या. पिताम्बर गुरुङले उनको निधनमा शोक व्यक्त गर्दै आफ्नो समुदायको खम्बा ढलेको बताएका छन्। तमुधिं यूके अध्यक्ष हरि गुरुङले पनि वक्तव्य जारी गर्दै गुरुङको निधनमा दु:ख व्यक्त गरेका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू