शनिबार, साउन १२, २०८१
05:45 | १०:३०

भूकम्प पीडितलाई पर्याप्त राहत दिन एक कूटनीतिज्ञले गराए ध्यानाकर्षण

नेपाली लिङ्क डिसेम्बर १६, २०२३

काठमाडौं– यसै साता पश्चिम नेपालका भूकम्प प्रभावित क्षेत्रको भ्रमण तथा राहत वितरण गरेर फर्केका कूटनीतिज्ञ तथा मानव अधिकारकर्मी डा अर्जुन कार्कीले अस्थायी आवास निर्माण तीव्र पार्न तथा महिला, बालबालिका र वृद्धवृद्धालाई जाडोबाट जोगाई जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

जाजरकोट र रुकुम पश्चिमको भ्रमण गरी बुधबार काठमाडौं फर्किएका डा. कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले नेकपा माओवादी लगायत विभिन्न राजनीतिक दलका कार्यकर्ताको नमुना अस्थायी आवास बनाउने काम सह्राहनीय भए पनि स्थानीय आवश्यकता अनुसार त्यो निकै न्यून भएको बताए।

‘हामीले दशौँ हजार घरहरु पुनर्निर्माण गर्नु पर्नेछ, तत्काल अस्थायी निवास बनाउनु पर्ने छ। त्यसैले सुरक्षा निकाय तथा दक्ष कामदारहरु परिचालन गरेर तत्काल पुनर्निर्माणको काम अभियानको रुपमा सुरु गरि हाल्नु पर्छ’, ग्रामीण पुनर्निर्माण संघ (आरआरआरएन) का प्रमुख कार्यकारी समेत रहेका डा कार्कीले भने ।

सरकारले दुई चरणमा गरी अस्थायी निवास बनाउन रु पचास हजार भूकम्प पीडितहरुलाई दिने बताएको छ, तर उक्त रकम अपर्याप्त हुने उनले बताए। ‘वर्षा सुरु हुनु अगावै भत्किएका घर पुनर्निर्माण गर्न सक्ने गरी सरकारले राहत रकम तथा बैंक ऋणको व्यवस्था गर्नु पर्छ। किस्ता, किस्तामा थोरै थोरै रकम दिंदा दुरुपयोग हुन सक्छ’, उनले भने।

अमेरिकाका लागि पूर्व नेपाली राजदूतसमेत रहेका डा कार्कीले दुर्गम क्षेत्रमा चिसोले गर्दा सुत्केरी, गर्भवती लगायत महिला, केटाकेटी र बुढाबुढी बिरामी पर्न थालेको र केहीको दुःखद निधन भइसकेको बताए।

‘कैयौं परिवारले प्लास्टिकमुनि रात बिताइरहेका छन्।सुत्केरी र बच्चाहरुको बिजोग छ। न्यानो कपडा, कम्बल र अस्थायी आवासको तत्काल आवश्यकता छ’, भूकम्पपछि दोश्रो पटक जाजरकोट पुगेका डा. कार्कीले भने।

तीन तहका सरकारबीच समन्वयको समस्या देखिएको भन्दै भूकम्प पीडितहरुका लागि आवश्यक सामग्री भित्रयाउने स्वदेशी तथा विदेशी संस्था र निकायलाई भन्सार र कर छुट दिन पनि सरकारलाई आग्रह गरे।

डा कार्कीले स्थानीय श्रोत, साधन र सीपको अत्यधिक प्रयोग गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने ढंगले पुनर्निर्माणको काम अगाडि बढाउन पनि सुझाव दिए। ‘नेपालमा भूकम्प बाहेक जलवायु परिवर्तनका कारण पनि बाढी, पहिरो जस्ता विपदको जोखिम उच्च रहेकाले जिल्ला र स्थानीय स्तरमा विपदसंग जुध्न एउटा स्थायी र कामकाजी संरचना बनाउन अब ढिलो गर्नु हुँदैन, र त्यस्तो संरचनाको नेतृत्व स्थानीय समुदायले नै गर्नुपर्छ’, हालै युएईमा आयोजित जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २८) मा भाग लिएर फर्किएका कार्कीले भने।

आरआरएनले पहिलो चरणमा रुकुम पश्चिममा ३,००० थान त्रिपाल, वाटर फिल्टर २५० थान, म्याट्रेस, कम्बल, सल, सारी, ज्याकेट लगायतका कपडा वितरण गरेको र दोश्रो चरणमा रुकुम पश्चिम र जाजरकोटका लागि न्यानो कपडा लगायत अस्थायी आवास बनाउन १,५०० बन्डल जस्तापाता पठाएको उनले बताए।

गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिदु भएर गएको भूकम्पमा परी कम्तीमा १५० जनाको ज्यान गएको थियो भने २५० भन्दा बढी घाइते भएका थिए । भूकम्पका कारण ज्यान गुमाउनेमा अधिकांश बालबालिका र महिला छन्। भूकम्पका कारण सैयौं परिवार घरबारविहीन भएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू