शनिबार, वैशाख २२, २०८१
13:54 | १८:३९

ब्रिटिश आर्मीका फिजिकल इन्सट्रक्चर सन्देशले ल्याए नयां म्यूजिक भिडियो

नेपाली लिङ्क डिसेम्बर १४, २०२३

लन्डन । ब्रिटिश आर्मीमा शारिरिक प्रशिक्षक (फिजिकल इन्सट्रक्चर) हुन् सन्देश लिम्बु । व्यक्तित्व विकास र शारिरिक व्यायाममा दक्ष सन्देशको अर्को परिचय भने संगीतकार र गीतकारका रुपमा पनि छ ।

उनै ‘भर्सटायल’ ब्रिटिश गोर्खा सन्देश आफ्नो दोश्रो म्यूजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् ।

चर्चित गायक राजेश पायल राईले गाएको ‘माया दियौ…’ गीतमा निर्मित नयां म्यूजिक भिडियोमा सन्देशको मुख्य अभिनय छ । सन्देशलाई साथ दिने मोडल कमला लिम्बु (सेसिमा सेन्डाङ) पेशाले नर्सिङकी म्याट्रोन हुन् र उनले यसअघि दर्जन हाराहारी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् । कमलाले अभिनय गरेको दिनेश माङमुको फिल्म ‘युकपुङ’ (वस्ती) समेत रिलिजको तयारीमा छ ।

ग्लोवल रिक्रुटिङ कम्पनी लि. ले निर्माण गरेको उक्त म्यूजिक भिडियो बेलायतका चर्चित युवा निर्देशक कुशल श्रेष्ठले निर्देशन, छायांकन तथा सम्पादन गरेका हुन् ।

‘माया दियौ’ गीत सन्देशले लेखेका हुन् भने संगीत सन्देश साइमन राईको छ ।

निर्देशक कुशल श्रेष्ठले म्यूजिक भिडियो ‘ए’ ग्रेडको बनेकाले आफू यसबाट धेरै आशावादी रहेको बताए । ‘मैले बेलायतमा निर्देशन, छायांकन गरेका दर्जनौं म्यूजिक भिडियोमध्ये यो टप थ्रीमा छ’, सञ्चारकर्मी समेत रहेका श्रेष्ठले भने, ‘प्रविधि, लोकेशन र कलाकारहरुको समिश्रणले गर्दा पनि दर्शक श्रोता भिडियो हेरेर रोमाञ्चित हुन सक्छन् ।’

बेलायतमा सर्वाधिक खोजी गरिने निर्देशक श्रेष्ठले फिल्म, म्यूजिक भिडियो, विज्ञापन, सामाजिक, धार्मिक, पारिवारिक समारोह लगायत दर्जनौं इभेन्टमा आफ्नो कौशल प्रस्तुत गरिसकेका छन् । उनी विदेशमा यो पेशामा पूर्ण समय दिने सम्भवतः एकमात्र फुलटाइमर निर्देशक हुन् । कान्तिपुर टिभी र एपी वान टेलिभिजनका लागि बेलायतबाट काम गरिसकेका उनी नयां अत्याधुनिक प्रविधि आत्मसात गर्दै निर्देशन र छायांकनमा पृथकता दिन दक्ष मानिन्छन् ।

हेरौं भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू