शनिबार, साउन १२, २०८१
02:36 | ०७:२१

अष्ट्रेलियाका नेपाली वैज्ञानिक विज्ञान तथा प्रविधि पुरष्कारद्वारा सम्मानित

नेपाली लिङ्क डिसेम्बर ७, २०२३


काठमाडौं- अष्ट्रेलिया निवासी नेपाली वैज्ञानिक डा. राजु अधिकारी विज्ञान तथा प्रविधि पुरष्कारबाट सम्मानित भएका छन् ।  

गैरआवासीय नेपाली संघको सीप, ज्ञान तथा नव प्रवर्तन विभाग अन्तर्गत नेपाल साइन्स फाउन्डेशनका संयोजक डा. अधिकारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) द्वारा स्थापित सो पुरष्कारबाट सम्मानित हुने पहिलो गैरआवासीय नेपाली हुन् । 

नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदान गरेको सो पुरस्कार एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले ग्रहण गरे। 

अधिकारीले स्वदेश तथा विदेशमा विज्ञान तथा प्रविधिको विकासमा निरन्तर लागि सीप, ज्ञान र नवप्रवर्तन कार्यमा महत्वपूर्ण योगदान पुरयाएका छन् ।  

उनले स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, OLED, खाद्यपदार्थ आदिमा आवश्यक पर्ने नवीन प्रकारका वातावरणमैत्री प्लास्टिक पदार्थहरु विकास गरी पेटेन्ट तथा वैज्ञानिक प्रकाशनद्वारा नवीन प्रविधि विकास गरेका छन् । साथै विदेशमा रही नेपाल साइन्स फाउन्डेशन ट्रष्ट लगायत संस्थामार्फत संसारभरका वैज्ञानिक समुदायलाई नेपालका विश्व विद्यालय तथा प्रज्ञा प्रतिष्ठान अनुसन्धान केन्द्रहरुसंग जोडेर नेपालको विज्ञान तथा प्रविधिको विकासमा पनि उनको मुख्य योगदान छ ।  

दाङको देउखुरी मुसुरियाका अधिकारी हाल अष्ट्रेलियाको सीएसआइआरओ र RMIT विश्वविद्यालयमा प्रमुख अनुसन्धान वैज्ञानिकका रुपमा कार्यरत छन् । डा. अधिकारीका २६ ओटा पेटेन्ट दर्ता र एक सय बढी अनुसन्धानात्मक सामाग्री प्रकाशित छन् । 

उनले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परीक्षण गरिएको छ। अधिकारीले सन् १९८७ देखि १९९१ सम्म तत्कालिन शाही नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) को केन्द्रीय अनुसन्धान प्रयोगशालाको पहिलो प्रमुखको रुपमा पनि काम गरेका थिए । 

गैरआवासीय नेपाली संघले प्रवासमा रहेका वैज्ञानिक प्रतिभाहरुको सीप र क्षमता नेपालको विकासमा उपयोग गर्ने उद्देश्यले सीप, ज्ञान तथा नव प्रवर्तन कमिटी गठन गरेको थियो। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू