शनिबार, साउन १२, २०८१
02:31 | ०७:१६

लण्डनमा प्रभु बैंकलाई ‘बैंक अफ द इयर २०२३’ अवार्ड

नेपाली लिङ्क डिसेम्बर १, २०२३

लण्डन – बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका दि बैंकरले हरेक वर्ष प्रदान गर्दै आएको ‘बैंक अफ द इयर २०२३’ अवार्ड यसपटक नेपालबाट प्रभु बैंकले पाएको छ ।

बिहीबार लण्डनमा आयोजित एक कार्यक्रममा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले अवार्ड ग्रहण गरे ।

‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी ‘बैंक अफ दि इयर’बाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ । 

सन् २००० देखि दि बैंकरले गर्दै आएको बैंक अफ दि इयर अवार्ड विश्वव्यापी बैंकिङ क्षेत्रमा प्रतिष्ठित अवार्ड हो ।

बैंकले एक विज्ञप्ति जारी गरी ‘बैंक अफ दि इयर-२०२३’ को उपाधि प्राप्त गर्न सफल भएको सुखद् खबर बाँड्न पाउँदा अत्यन्त उत्साहित भएको जनाएको छ । 

‘बैंक अफ दि इयर अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् बैंकिङ उद्योगको ओस्कार मानिन्छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरुको व्यवसायको विकास गर्न चुनौतीहरुको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पुर्‍याएको, प्रतिस्पर्धी बैंकका बीचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो ।’

यसअघि सन् २०२२ मा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले उक्त अवार्ड पाएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू