शनिबार, साउन १२, २०८१
02:15 | ०७:००

सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा पुनः सञ्चालन

रासस नोभेम्बर २६, २०२३

काठमाडौँ, १० मंसिर– सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चालन भएको छ ।

आज आइतबारदेखि प्रत्यक दिन बिहान ८ः३० बजेदेखि तीन–तीन मिनेटको फरकमा सूर्यविनायक–रत्नपार्कका लागि बस छुट्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए ।

“रत्नपार्क–सूर्यविनायक रुटमा ३६ बस सञ्चालन हुनेछन्”, उनले भने, “आज बिहान साढे ८ बजेदेखि बस नियमित सञ्चालन गरिएको छ ।” यसअघि उक्त रुटको दुवैतर्फ गरी २५ बस सञ्चालन गरिएको थियो ।

बस सेवा बिहान १०ः३० बजेसम्म र दिउँसो ३ः३० बजेदेखि ५ः३० बजेसम्म सञ्चालनका लागि तालिका बनाइएको महानिर्देशक रिजालले जानकारी दिए ।

उनका अनुसार द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बस थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको छ ।

यात्रुलाई छिटो गन्तव्य पुग्न सहज होस् भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर गत असोज ३ गतेदेखि उक्त बस सेवा सुरु गरेको थियो । सेवा प्रभावकारी नभएपछि एक महिनामै स्थगित गरिएको थियो । अन्य सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा लाग्ने गरेकामा द्रुत बसलाई ४५ मिनेट लाग्ने रिजालले दाबी गर्नुभयो । माइतीघर, कोटेश्वर, जडीबुटीलगायत ट्राफिक जाम बढी हुने चोकमा पनि द्रुत सेवाका बस रोकिन नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्ने उनको भनाइ छ ।

रत्नपार्क–सूर्यविनायक रुटमा अरु सार्वजनिक बसले जति भाडा लिन्छन् द्रुत बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभाग मीनभवनले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू