बिहीबार, कार्तिक ८, २०८१
17:58 | २२:४३

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको तिहार शुभकामना  

नेपाली लिङ्क नोभेम्बर १४, २०२३

लन्डन । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको कला, साहित्य तथा संस्कृति विभागले दीपावलीको अवसरमा ‘भर्चुअल’ अन्तरक्रिया गरेको छ ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथि संस्कृत विश्वविद्यालयका उप-प्राध्यापक शालिकराम ढकाल मुख्य प्रवचक र अर्का विशेष अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पा थिए।

कार्यक्रममा संस्कृत विश्वविद्यालयका उपप्राध्यापक ढकालले तिहार पर्वमा प्रकृति, मानव र जीवजन्तुबीचको सम्बन्ध तथा तिहारको ऐतिहासिक, सांस्कृतिक विशेषता, सामाजिक सद्भाव र महत्व विषयमा अनुसन्धनात्मक प्रवचन दिएका थिए । 

नेपालीहरुको दोस्रो मुख्य चाडमा पूजा गरिने काग, कुकुर, गाई, गोरु तथा भाइटीकाको विभिन्न पौराणिक महत्व र परम्पराबारे पनि उनले प्रष्ट्याए ।

उनका भनाइमा पौराणिक कालमा दुःख दुःखको सूचना प्रवाह गर्ने माध्यमका रुपमा रहेको कागलाई काग तिहारको दिन पूजा गर्ने चलन शुरु भएको हो । 

इमान्दारी र बफादारीको रुपमा घर र मानिसको रक्षा गर्ने भएकाले कुकुर, मानव जातिका लागि दूध तथा कृषि उत्पादनका लागि आवश्यक पर्ने मल, गहुँत र गोबर उत्पादनमा सहयोग पुरयाउने हुँदा गाई तिहार तथा गोवर्धन पूजा गर्ने प्रचलन सुरु भएको पनि ढकालले उल्लेख गरे।

चेली माइतीको सम्बन्धलाई सामाजिक र पारिवारिक सम्बन्धको विशेष महत्व राख्ने दिनको रुपमा तिहारको पाँचौं दिनलाई भाइटीकाको रुपमा निधारमा सप्तरङ्गी टीका लगाएर शुभकामना आदानप्रदान गरि सुसंस्कृत समाज बनाउने परम्परा रहेको वक्ताहरुले बताए।

कार्यक्रमका अतिथिहरुले तिहारको विशेषता र महत्वबारे संक्षिप्त बताउंदै शुभकामना आदानप्रदान गरेका थिए। 

विभागका सचिव खड्ग न्यौपानेले सञ्चालन गरेको सो कार्यक्रममा विभागीय प्रमुख सरस्वती केसीले सबै सहभागी र फेसबुक लाइभमा जोडिएका स्वदेश तथा विदेशका सम्पूर्ण नेपालीलाई दीपावली (तिहार), म्ह:पूजा, छठ, नेपाल सम्वत्, उधौली, उभौली, ल्होसारलगायत पर्वहरूको शुभकामना दिएकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू