रयान एयरको नाफा बढेपछि शेयरधनीलाई लाभांश
लण्डन, १९ कात्तिक–रयान एयरले उच्च भाडा दर र उच्च कारोबारका कारण पहिलो छ महिनामा खुद नाफा ७२ प्रतिशतले बढेपछि शेयरधनीलाई नियमित लाभांश दिने घोषणा गरेको छ ।
सस्तो सेवाका लागि नाम चलेको आयरल्याण्डको एयरलाइन्स, रयान एयरले एक वक्तव्यजारी गर्दै भनेको छ, “सेप्टेम्बरको अन्त्यसम्मको छ महिनामा करपछिको नाफा २.२ अर्ब युरो (२.४ अर्ब डलर) पुगेको छ ।”
डब्लिनमा मुख्यालय रहेको विमान सेवाले आफ्नो इतिहासमा पहिलो पटक नियमित लाभांश भुक्तानी सुरु गर्ने जनाएको छ ।
कोभिड–१९ महामारीका कारण विश्वव्यापी रुपमा उडान बन्द भएको दशकको सुरुमा ठूलो नोक्सानी व्यहोरेको उड्डयन क्षेत्रले बलियो पुनरुत्थानको आनन्द लिइरहेको बेला यो कदम चालिएको हो ।
रयान एयरका प्रमुख कार्यकारी माइकल ओलेरीले भने, “हामी ती शेयरधनीहरूलाई धन्यवाद दिन चाहन्छौं, जसले कोभिडको कठिन समयमा सहयोग गरेका छन् ।”
क्यारियरले अर्को वर्षको फेब्रुअरी र सेप्टेम्बरमा दुई समान भुक्तानीमा फैलिएको ‘४० लाख यूरोको पहिलो साधारण लाभांश’ घोषणा गरेको छ ।
आगामी वर्षहरूमा रयान एयरले खुद मुनाफाको करिब २५ प्रतिशत लाभांश बाँड्ने अपेक्षा गरिएको छ ।
धेरै प्रतिकुलताको बावजुद उच्च वार्षिक मुनाफाको अपेक्षाको साथ लाभांश घोषणा भएका छन् । यसले डब्लिनमा रयान एयरको शेयर मूल्य १६.१२ यूरो अर्थात् छ प्रतिशत वृद्धि गर्न मद्दत गरेको छ ।
रयान एयरले यसअघि सन् २०२० सम्मको १२ वर्षको अवधिमा ६ अर्ब ७४ करोड यूरो बराबरको शेयर पुनःखरीद र तदर्थ लाभांश भुक्तानी गरिसकेको कम्पनीले एएफपीसँग बताएको छ ।
ओलेरीले थपे, “विमान कम्पनीको पूर्ण–वर्ष परिणाम अहिले र मार्चको अन्त्यसम्म यूक्रेन वा गाजा आक्रमणजस्ता ‘कुनै अप्रत्याशित प्रतिकूल घटनाहरूको अनुपस्थितिमा अत्यधिक निर्भर रहन्छ ।”