शनिबार, साउन १२, २०८१
02:30 | ०७:१५

भूकम्प पीडितहरुका लागि सक्दो सहयोग गर्न हेल्प नेपाल यूकेको अपिल

नेपाली लिङ्क नोभेम्बर ५, २०२३

लन्डन- बेलायतस्थित कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्क यूकेले पश्चिम नेपालमा गत शुक्रबार राती गएको भूकम्पमा परी प्रभावित परिवारहरुको सहयोगार्थ सहयोग संकलन अभियान शुरु गरेको छ।

हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले पश्चिम रुकुम र जाजरकोटबाट टेन्ट, औषधि, खाद्यान्न तथा जाडोका लागि न्यानो कपडाको माग आइरहेको बताए।

“हामीसंग स्थानीय स्तरमा स्वयम्सेवी संस्था र स्वयंसेवकहरु हुनु हुन्छ। उहाँहरुको साथ र सहयोग लिएर हामीले तत्काल राहत वितरण शुरु गर्न लागेका छौं,” उनले भने।

त्यस्तै हेल्प नेपाल नेटवर्क यूकेका अध्यक्ष सचिन श्रेष्ठले पश्चिम नेपालका भूकम्प प्रभावितहरुलाई मन खोलेर सहयोग गर्न यूके तथा संसारभरि रहेका प्रवासी नेपालीहरुलाई आग्रह गरे। 

“हेल्प नेपालले विगतमा पनि महाभूकम्प होस् वा कोभिड महामारी, तपाईंहरुको सहयोगलाई पीडित परिवारसम्म आपत्कालीन तथा मानवीय सहयोग पुराउँदै आएको छ। यसपटक पनि भूकम्प पीडित परिवारहरुलाई तत्काल सहयोग पुराउन तपाईंहरुको अमूल्य सहयोगका लागि हामी अपिल गर्दछौँ”- श्रेष्ठले भने । 

सन् २०१५ मा गएको महाभूकम्पपछि संसारभरिका नेपालीहरुको सहयोगबाट हेल्प नेपाल नेटवर्कले झन्डै ६ हजार परिवारलाई आपतकालीन राहत वितरण गरेको थियो भने ६ वटा अस्थायी स्वास्थ्य चौकी निर्माण तथा ६ वटा विद्यालयको पुनर्निर्माणमा सघाएको थियो । त्यस्तै दर्जनौं स्वास्थ्य शिविर पनि संचालन गरेको थियो। 

“मातृभूमिको लागि महिनामा एक पाउण्ड वा एक डलर” भन्ने नारा दिएर सन् १९९९ मा बेलायतबाट सो नेटवर्क (www.helpnepal.net)  स्थापना गरिएको थियो। नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग पुराउँदै आएको छ।

यो लिंकमा गएर सक्दो सहयोग गर्न पनि हेल्प नेपाल नेटवर्कले सबै प्रवासी नेपालीहरु तथा नेपालका मित्रहरुलाई आग्रह गरेको छ।

https://www.justgiving.com/page/nepal-earthquake-appeal-2023

हेल्प नेपाल नेटवर्क अमेरिका तथा हेल्प नेपाल नेटवर्क अष्ट्रेलिया शाखाले पनि सहयोग संकलन अभियान शुरु गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू