शनिबार, साउन १२, २०८१
03:04 | ०७:४९

वैदेशिक लगानीका लागि लन्डनमा अर्थमन्त्रीको भेटघाट तीव्र

नेपाली लिङ्क अक्टोबर ३१, २०२३

लन्डन । बेलायत भ्रमणमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले कानूनी सुधारबारे अवगत गराउंदै नेपालमा लगानी गर्न बेलायती व्यवसायीलाई आग्रह गरेका छन् ।

लन्डनस्थित नेपाली दूतावास र डोल्मा इम्प्याक्ट फण्डको संयुक्त आयोजनामा ​​सोमबार गील्डहल, लन्डनमा आयोजित ‘नेपालको नवीकरणीय ऊर्जा विकासका लागि दीर्घकालीन वित्तिय विकल्प’ सम्बन्धी उच्चस्तरीय व्यापार भेला सम्बोधनका क्रममा अर्थमन्त्री महतले नेपालको विकास प्राथमिकताबारे उल्लेख गर्दै तीव्र आर्थिक वृद्धिका लागि वैदेशिक लगानी आवश्यक रहेको बताए ।

सिटी अफ लन्डनका लर्ड मेयर प्राध्यापक माइकल मैनेलीको सहयोगमा आयोजित उक्त कार्यक्रममा प्रमुख संस्थागत लगानीकर्ता, बैंक तथा बीमा कम्पनीका प्रतिनिधिहरुको सहभागिता थियो ।

उनले नेपाललाई विशेषगरि जलविद्युत जस्ता क्षेत्रमा ठूला आयोजना कार्यान्वयन गर्न पर्याप्त स्रोतसाधन आवश्यक रहेको र सरकारले सबै प्रकारका दीर्घकालीन वित्तिय विकल्प खोजिरहेको बताए ।

मन्त्री महतले विदेशी लगानी आकर्षित गर्न नेपाल सरकारले गरेको वर्तमान सुधार, मुनाफा फिर्ता लैजान पाइने ग्यारेन्टी एवं सहज ऋण भुक्तानी प्रक्रियालगायत विषयमा पनि रुपरेखा प्रस्तुत गरेका थिए ।

उनले लगानीकर्तामाझ नवीकरणीय ऊर्जा आयोजना विकासका लागि सरकारले आवश्यक कानुनी, नीतिगत र संस्थागत व्यवस्था, हेजिङ व्यवस्था र कन्ट्री रेटिङ प्रक्रिया थालनी गरिरहेको जानकारी समेत दिए ।

उक्त राउण्ड टेबल छलफलमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले विश्वको प्रमुख वित्तीय केन्द्रका रूपमा लन्डनले हरितगृह ग्याँस उत्सर्जन घटाउन मात्र नभई नेपालको प्राथमिकतामा रहेका जलविद्युत क्षेत्रमा विश्वव्यापी पूंजी आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

सो अवसरमा डोल्मा इम्प्याक्ट फण्डका अध्यक्ष टिम गोचर, स्ट्याण्डर्ड चार्टर्ड बैंकका अदिल अन्सारी, लर्ड मेयर निर्वाचित प्राध्यापक माइकल मैनेली, एमयूएफजीका क्रिस्टोफर मार्कस लगायतले विभिन्न वित्तिय विकल्पमा छलफलको नेतृत्व गरेका थिए ।

एमयूएफजीका प्रवन्ध निर्देशक क्रिस्टोफर, म्यूनिख रे समूहका नवीकरणीय उर्जा सम्बन्धि ज्ञाता डोमिनिक कोयने र निक डनलपले विश्वव्यापी पूंजी बजार एवं प्रमुख संस्थागत लगानीकर्ताहरूबाट लगानी कसरी आकर्षित गर्ने भन्नेबारे आ आफ्नो विचार राखे ।

उनीहरुले नेपालले संस्थागत लगानीकर्तालाई उचित प्रोत्साहन र नियामक तथा संस्थागत सहयोगका उपायहरुबाट आकर्षित गर्न सक्ने कुरामा जोड दिए ।

बेलायतको विदेश मन्त्रालयकी उपनिर्देशक सुश्री लेस्ली क्रेग, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्की, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रलगायतले पनि नेपालको नवीकरणीय उर्जा वृद्धिका लागि दीर्घकालीन वित्तिय विकल्पबारे आफ्नो धारणा राखेका थिए ।

यसैबीच, अर्थमन्त्री डा. महतले सोमबार ट्रेजरी विभागमा ट्रेजरी लर्ड्स मिनिष्टर ब्यारोनेस पेनसंग पनि भेटघाट गरेका छन् । भेटमा मन्त्री महतले वर्तमान सरकारको विकास प्राथमिकताबारे जानकारी दिँदै विभिन्न क्षेत्र विशेषगरी नवीकरणीय ऊर्जामा उल्लेख्य लगानी आवश्यक रहेकामा जोड दिए ।

नेपालको विकासमा बेलायत सरकारको सहयोगको प्रशंसा गर्दै महतले आगामी दिनमा आर्थिक वृद्धिलाई तीव्रता दिन र अर्थतन्त्रलाई रूपान्तरण गर्न महत्वपूर्ण हुने जलवायु वित्तमा थप सहयोगका लागि अनुरोध गरे ।

सो अवसरमा ब्यारोनेस पेनले नेपालको विकास प्रयासमा बेलायत सरकारको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै नेपालमा वैदेशिक लगानी सहजीकरणका लागि बेलायतले दिएको सहयोगको रूपरेखा समेत प्रस्तुत गरेकी थिइन् ।

उता, मन्त्री महतले नेपाली दूतावासमा भूतपूर्व गोर्खा संगठनका प्रतिनिधिसंग पनि भेट गरेका छन् । उक्त भेटमा गोर्खासम्बन्धी बेलायत नेपाल द्विपक्षीय जारी वार्ताले गोर्खा सैनिकका गुनासो सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

मन्त्री महत सोमबार सांझ नै दूतावासले आफ्नो सम्मानमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए । सम्बोधनका क्रममा मन्त्री महतले नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको भन्दै गैर आवासीय नेपाली तथा ब्रिटिश लगानीकर्ताहरुलाई लगानी गर्न आग्रह गरे ।

उपनियोग प्रमुख रोशन खनालले सञ्चालन गरेको उक्त स्वागत समारोहमा राजदूत ज्ञानचन्द्र आचार्य, बेलायती सांसद, नेपाली समुदाय र संघसंस्थाका प्रतिनिधि एवं नेपालका शुभचिन्तक बेलायतीको सहभागिता थियो । तस्विरहरु- नेपाली दूतावास लन्डन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू