सिर्जनशील तारा इङ्ग्लिश बोर्डिङ स्कुल, प्युठान बेलायतमा पुरष्कृत



लन्डन – प्युठानको प्युठान नगरपालिकामा संचालित सिर्जनशील तारा इङ्ग्लिश बोर्डिङ स्कुल, प्युठान बेलायतमा पुरष्कृत भएको छ।
यसै साता युनिभर्सिटी अफ ग्रिनिचमा आयोजित ‘नेपाल एजुकेशन अवार्ड्स युके २०२५’ समारोहमा उक्त बोर्डिङ स्कुलका अध्यक्ष डा शैलेन्द्र गिरीले सो पुरष्कार ग्रहण गरेका थिए।
सिर्जनशील तारा इङ्ग्लिश बोर्डिङ स्कुललाई ‘इमर्जिङ डिजिटलाइज्ड स्कुल अवार्ड २०२५’ प्रदान गरिएको आयोजकले जनाए।
सोही समारोहमा डा गिरी अध्यक्ष रहेको राप्ती इन्जिनियरिङ कलेज, घोराही, दाङलाई विश्वस्तरीय शैक्षिक उत्कृष्टता पुरस्कार र सोही कलेजका प्रिन्सिपल रेशम गिरीलाई वर्ष २०२५ का उत्कृष्ट प्राचार्य पुरस्कार प्रदान गरिएको थियो।
“यी पुरष्कारहरुले काठमाडौँ बाहिर बसेर पनि समय सुहाउँदो गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ। यसले हामी सबै लाई उत्साहित पनि बनाएको छ,” डा गिरीले भने।
हालै डा गिरीलाई सूचना प्रविधि क्षेत्रमा उनको योगदानको कदर गर्दै एसियाका १०० जना उत्कृष्ट वैज्ञानिकहरुको सूचीमा समावेश गरिएको थियो।
अवार्ड्सको आयोजक कलेज रिडर्सका प्रमुख कार्यकारी अधिकृत जितेन्द्र घिमिरेले सो पत्रिकाको १८ वर्षको यात्रालाई स्मरण गर्दै व्यक्तिगत र संस्थागत अवार्डमार्फत नेपालमा शैक्षिक उन्नयनमा योगदान गर्ने व्यक्तित्वहरुलाई अन्तरराष्ट्रियस्तरमा सम्मानित गर्ने प्रयास गर्दै आएको बताए ।
निर्णायक मण्डल (जुरी) का प्रमुख मधेश विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक बहादुर शाक्यले अवार्डका लागि १२० भन्दा बढी नामांकन प्राप्त भएको जानकारी दिए ।
“हामीले शैक्षिक उत्कृष्टता, नवप्रवर्तन र नेतृत्व, सामुदायिक संलग्नता र विश्व दृष्टिकोणका आधारमा पुरष्कृत संस्था तथा व्यक्तित्वहरु छनोट गरेका हौं,” उनले भने ।
यस वर्ष ६२ जना उत्कृष्ट शिक्षाशास्त्री तथा शिक्षकहरू र ३० अग्रणी संस्थाहरूलाई रूपान्तरणकारी नेतृत्वका लागि सम्मानित गरिएको उनले बताए ।
समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले यी अवार्डहरू नेपाल–बेलायत साझेदारी र साझा मूल्यहरूको उत्सव भएको बताए ।
उनले नेपाली विद्यार्थीहरू विश्वस्तरमा प्रतिस्पर्धी बनेका र उनीहरूले ज्ञान सृजना र नवप्रवर्तनमार्फत नेपालको समाज र अर्थतन्त्रको विकासमा योगदान दिइरहेको बताउंदै नेपाली शैक्षिक संस्थाहरूले युवा पुस्तालाई सक्षम बनाउने काम गरिरहेको जनाए ।
कार्यक्रममा नेपालभरिका विभिन्न उत्कृष्ट कलेज तथा शिक्षण संस्थाहरुलाई शैक्षिक उत्कृष्टतासंग सम्बन्धित विभिन्न क्याटगरीमा अवार्ड प्रदान गरिएको थियो।
त्यस्तै उक्त समारोहमा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा सुवर्ण लाल बज्राचार्य, सोही विश्व विद्यालयका रजिस्ट्रार डा तिलकराम आचार्य, मधेश विश्वविद्यालयका रजिस्ट्रार विजय यादव, प्याब्सनका पूर्व अध्यक्ष टिकाराम पुरी, एन-प्याब्सनका अध्यक्ष सुवाश न्यौपाने, द ब्रिटिश कलेजका निर्देशक राजेन कंडेल लगायतलाई सम्मान गरिएको थियो।