पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी कार्य तीव्र



पोर्चुगल । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् ।
तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् ।
उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले जानकारी दिए ।
गत आइतबार राति घरमा तामाङको आएका पाण्डे साथीको फोन आयो भनेर गएका थिए । त्यसपछि पाण्डे सम्पर्कविहीन भएको तामाङले बताए ।
सँगै काम गर्ने साथीलाई आफ्ना लागि पनि खाना लगिदिन भनेका पाण्डे सोमबार काममै नगएपछि उनको खोजी गरिएको थियो ।
“पाण्डे सम्पर्कबिहीन भएपछि नेपालस्थित परिवारलाई सम्पर्क गरेका थियौँ, त्यहाँबाट पाण्डेले बिहान आफन्तलाई फोन गरेर केही दिन सम्पर्कमा हुन्न भनेको खबर प्राप्त भयो, अहिले उनको कसैसँग पनि सम्पर्क छैन”, तामाङले भने ।
पाण्डेको खोजीका लागि रोजगारदातामार्फत मङ्गलबार नै स्थानीय प्रहरीलाई खबर गरिएको उनले बताए ।
बेपत्ता भएका पाण्डेको रेसिडेन्सी कार्ड, बैंक कार्ड र राहदानीका साथै सबै सामान उनी बस्ने कोठामै भेटिएको छ । पाण्डेको नेपालमा वृद्ध बुबाआमा र दिदीबहिनी छन् ।
पाण्डे बेपत्ता भएको खबर दूतावासलाई प्राप्त हुनासाथ तत्काल खोजबिनका लागि स्थानीय प्रहरी प्रशासनलाई खबर गरिएको हालै सरकारले फिर्ता बोलाएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए ।
उनको खोजीका लागि दूतावासले सक्दो पहल गरिरहेको राजदूत पौडेलले बताए। क्रोएसिया हुँदै दुई वर्षअघि पोर्चुगल आएका पाण्डे सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए ।