शनिबार, साउन १२, २०८१
03:19 | ०८:०४

उच्चस्तरिय लगानी सम्मेलनका लागि अर्थमन्त्री आइपुगे लन्डन

नेपाली लिङ्क अक्टोबर २९, २०२३

लन्डन । नेपालका अर्थमन्त्री डा. प्रकाश शरण महत लन्डन आइपुगेका छन् ।

मन्त्री महत लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको एक उच्चस्तरिय लगानी सम्मेलनमा सहभागी हुन शनिबार सांझ लन्डन आइपुगेका हुन् ।

हिथ्रो विमानस्थल टर्मिनल ४ मा उत्रंदा मन्त्रीलाई राजदूत ज्ञानचन्द्र आचार्य, कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ लगायत पदाधिकारी र व्यवसायीले स्वागत गरेका थिए ।

मन्त्री महतका साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि सहभागी छन् ।

आउंदो ३१ अक्टोबर मंगलबार दिउसो लन्डन म्यान्सन हाउसमा ‘इमर्जिङ नेपालः अपरचुनिटिज फर इम्प्याक्ट इन्भेष्टमेन्ट एण्ड ट्रेड’ विषयक सम्मेलन हुंदैछ । ब्रिटिश सरकारसंगको समन्वयमा दूतावासले लगानी सम्मेलन गर्न लागेको हो ।

मन्त्री महतले सम्मेलनका क्रममा ब्रिटिश लगानीकर्ता र विकास साझेदार कम्पनीहरुसमक्ष नेपालमा लगानीको वातावरण, कानूनी व्यवस्था, सरकारका प्रस्ताव र लगानीका सम्भावित क्षेत्र आदिबारे प्रस्तुति दिनेछन् ।

‘सम्मेलनको मुख्य उद्देश्य नेपालमा बढी भन्दा बढी लगानी भित्रयाउने वातावरण बनाउनु नै हो’, मन्त्री महतले भने, ‘गैर आवासीय नेपालीलाई पनि नेपालमा लगानी गर्न अहिले सहज परिस्थिति छ । संविधानले नै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार दिएकाले उहांहरुले अप्ठेरो मान्नु पर्ने अवस्था छैन् ।’

महतले ब्रिटिश मन्त्रीहरुसंग समेत भेट्ने कार्यक्रम रहेको बताए । उनी १ नोभेम्बरमा नेपाल फर्कने कार्यक्रम छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले नेपालमा हाइड्रोपावर, पर्यटन जस्ता क्षेत्रमा लगानीको सम्भावना र अवसर धेरै रहेको बताए ।

‘म आफैं सानो व्यवसायबाट शुरु गरेर कर्पोरेट लेभलसम्म र महासंघको अध्यक्ष भएको छु । व्यवसायीलाई नेपालमा जस्तो अवसर अन्यत्र छैन्’- ढकालले भने ।

यसैबीच, मन्त्री महतको सम्मानमा राजदूतावास र जनसम्पर्क समिति बेलायतले क्रमशः सोमबार र आइतबार बेग्ला बेग्लै कार्यक्रम गर्ने भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू