मंगलबार, वैशाख २५, २०८१
07:56 | १२:४१

बेलायतका समाजसेवी जोडी राजशान्तिको म्यूजिक भिडियो ‘भाइरल’ बन्दै

नेपाली लिङ्क अक्टोबर २४, २०२३

लन्डन । बेलायतका लोकप्रिय समाजसेवी जोडी राजकुमार सुनार र शान्ति सुनार (राजशान्ति) एकपटक फेरि चर्चामा आएका छन् । यसपटक च्यारिटीकर्मले होइन, आफ्नो जन्मथलोमा केन्द्रित एउटा नयां म्यूजिक भिडियोले उनीहरु दर्शक श्रोताको मनभित्र बस्न सफल भएका हुन् ।

नेपालीहरुको महान् पर्व दशैं तिहारको पूर्व सन्ध्यामा ६ दिन अघि सार्वजनिक गरिएको ‘सुन्दरबजार कटेसी कुन्छा, बैगुनीलाई सम्झ्यो कि मन रुन्छ’ बोलको लोकदोहोरी गीत र भिडियो यतिबेला निकै चर्चित भइरहेको छ ।

गायक विवेक धितालको अफिसियल युट्युव च्यानलबाट रिलिज गरिएको उक्त गीतको म्यूजिक भिडियो सातदिन नबित्दै एक लाख ११ हजारले हेरिसकेका छन् । आफ्नो म्यूजिक भिडियो छोटो अवधिमै नेपाली लोक पारखीको मनभित्र बस्न सफल भएकामा खुशी छन् राज शान्ति ।

‘मैले यस भिडियोमार्फत आफ्नो जन्मथलोलाई चिनाउने प्रयत्न गरेको हुं’- परिकल्पनाकार तथा निर्माता राजले भने । गीतमा केवल माया प्रेमको रमाइलो वा रोदनका विषय मात्रै नभई समग्र लमजुङलाई चिनाउने प्रयास गरिएको राजशान्तिको भनाई छ ।

उक्त म्यूजिक भिडियो उमेश गुरुङले निर्देशन गरेका छन् । म्यूजिक भिडियोमा आनन्द गुरुङ, उत्साह घिमिरे र अनुश्का भण्डारीको अभिनय छ ।

लामो समयदेखि बेलायतमा रहेका सुन्दरबजार नगरपालिका भोटेओडारका राजकुमार र शान्ति सुनारले गायक विवेक धिताल र रेजिना परियारको स्वरमा सजिएको गीतलाई म्यूजिक भिडियोमा उतारेका हुन् ।

साँचो माया कहिल्यै अन्त्य हुँदैन र माया कहिल्यै जुठो हुँदैन भन्ने विश्वासमा रचिएको सो गीतको शब्द गायक धितालकै छ।

संगीतकार बीबी अनुरागीको एरेञ्ज रहेको गीतको समूह गायनमा सुरज बुढाथोकी, निश्चल गुरुङ, विन्दु परियार र सुनिता रसाइलीको स्वर छ।

जिल्लाको ८ वटै स्थानीय तहका विभिन्न महत्व बोकेका गाउँठाउँ र शहरबजारलाई गीतिलयमा समेटिएको छ। लमजुङका बेसीशहर, सुन्दरबजार, मध्यनेपाल, राइनास नगरपालिका तथा दुधपोखरी, दोर्दी, मरस्याङ्दी र क्व्होलासोथार गाउँपालिकामा अवस्थित ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय महत्वका स्थानलाई गीतमा समेटिएको छ। गीत सुन्दा र हेर्दै गर्दा स्रोता दर्शकले आफू स्वयं ति स्थानमा पुगेको अनुभूति गर्न सक्छन्।

यसअघि लमजुङका चर्चित केही स्थानबारे मात्रै जानकार दर्शक श्रोतालाई विभिन्न ठाउँको नाम चिन्ने र देख्ने अवसर नयां गीतले जुराएको छ। गीतले जिल्लाकै होचो भूभाग दुईपिप्ले देखि मनास्लु हिमालसम्मको भौगोलिक विविधता समेटेर समग्र लमजुङको प्रवर्धन गर्ने प्रयास गरेको छ ।

हेरौं म्यूजिक भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू