आइतबार, २१ जुन, २०२६
12:15 | १७:००

इन्टेक १९७६ नम्बरीहरूले मनाए ४७ औं वर्ष गांठ

नेपाली लिङ्क अक्टोबर १०, २०२३

लण्डन- सन् १९७६ सालमा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका नम्बरीहरूले सेवा प्रवेशको ४७ औं वर्ष गांठ उल्लासमय वातावरणमा मनाएका छन् ।  

गत ७ अक्टोबर शनिबार साउथ ह्यारो स्पोर्ट्स एण्ड सोसियल क्लवमा कार्यक्रम भएको हो । 

हरेक साल पालैपालो गरि जुन पल्टनलाई ब्यानर हस्तान्तरण गरिन्छ, तिनै पल्टनले बार्षिकोत्सवको समय अक्टूबर महिना पारेर जमघट ब्यवस्थापन गर्नुपर्ने नियम अनुसार क्वीन्स् गोर्खा  इन्जिनियर्स पल्टनको पालो थियो । तर कोरोना महामारी तथा अन्य विविध कारण उसले ब्यवस्थापन गर्न सकिरहेको थिएन । 

त्यसैले यसपटक क्वीनस गोर्खा सिग्नलस् पल्टनलाई स्थगित भइरहेको यो जमघट सुचारू गर्न अनुरोध गरिए बमोजिम लेप्टेनेण्ट थमप्रसाद गुरूङको नेतृत्वमा यूकेलाई कर्मथलो बनाएर बसेका क्यू जी सिग्नल्स् पल्टनका सारा नम्बरीहरूले सहयोग लिई कार्यक्रम भब्यताका साथ सम्पन्न गरे । 

जमघटमा नम्बरीहरूले १० महिनासम्म कष्टकर ‘रिक्रुट’ तालिम गर्दाको क्षण स्मरण गर्दै त्यो बेला दुःख सुखमा साथ दिने नम्बरीहरूको चर्चा गरे । उनीहरुले आफूबीच हुने आत्मियता पनि शेयर गरे । 


कार्यक्रमको सुरूवातमा जमघटका होस्ट लेप्टेनेण्ट थमप्रसाद गुरूङले हेल्थ एण्ड शेफ्टी तथा स्वागत मन्तब्य दिएका थिए । करिव डेढ दर्जन हाहराहरीमा गुमाएका दिवंगत नम्बरीहरूको आत्मालाई चिरशान्ति प्रदान होस् भन्दै एक मिनेट मौनधारण पनि गरिएको थियो । 

त्यस पश्चात होस्टले क्यू जी सिग्नल्स् नम्बरीहरूको अपडेट दिए भने हरेक पल्टनका प्रतिनिधिहरूले पालै पालो आफ्ना पल्टनका नम्बरीहरूको अपडेट दिएका  थिए। 

आफ्ना पल्टनका प्रतिनिधित्व गर्नेहरूमा, सेकेन्ड गोर्खा राइफलका क्याप्टेन राजु गुरूङ, सिक्स्थ गोर्खा राइफलका डम्बरबहादुर गुरूङ, सेभेन्थ गोर्खा राइफलका क्याप्टेन पन्चवीर राई, टेन गोर्खा राइफलका लेप्टेनेण्ट कमल राई, क्यू जी इन्जिनियर्सका नगेन्द्रधोज खांड र क्यूओजिएलआरका एमबहादुर थापा लगायत थिए । 

सन् १९७६ सालमा भर्ती भएका नम्बरीहरू हरेक क्षेत्रमा  बिशिष्ट ओहोदा ओगट्न सफल भएका छन् भने समाज सेवामा पनि आफूलाई सक्रिय बनाइ रहेका छन् । तीन जना नम्बरीहरू मेजर खुशीमान गुरूङ ६ गोर्खा जो आफैमा ब्रिटिस सुटिङ प्रतियोगिताको क्वीन्स मेडल विजेता हुन् । मेजर लक्ष्मिभक्त बान्तवा एमबीइ १० गोर्खा र मेजर दलबहादुर लिम्बु क्यूजीइहरू गोर्खा मेजर जस्तो प्रतिष्ठित श्रेणीमा पुग्न सफल भएका थिए भने मेजर बिसनुकुमार पुन जिसिओ श्रेणीमा पुग्न सफल भए । ज्ञानराज राई गोर्खा अभियन्ता हुन् जसले दुई पटकसम्म एमओडी अगाडि आमरण अनशन बसी गोर्खाप्रति भइरहेको भेदभाव अन्त्य गर्न वार्ताको ढोका खुलाएका छन् । 

उता लेवर पार्टीको प्रतिनिधित्व गर्दै कमल गुरूङ हेन्डन बरोको बर्न्टओक वार्डबाट काउन्सिलर निर्वाचित भएका थिए भने काउन्सिलर बिष्णुबहादुर गुरूङ पनि लेवर पार्टीबाट नै हन्सलो बरोको हानवर्थ पार्क वार्डबाट तेस्रो पल्ट निर्वाचित हुन सफल भए । काउन्सिलर बिष्णुले पहिलो कार्यकालमा उपमेयरको र दोस्रो कार्यकालमा मेयरको अभिभारा पनि निभाउने अवसर पाए । 

सबै भन्दा सिनियर नम्बरी सोमबहादुर गुरूङले नम्बरीहरूका तर्फबाट उनीहरू र तिनका अर्धाङगिनीलाई खादा लगाई सम्मान गरे ।

सो अवसरमा प्रवेशद्वारमा कृष्णबहादुर गुरूङ (माइला) र बिनोदचण्ड ठकुरी, कार पार्कमा शेरबहादुर पुन, संगीत र डिजेको अभिभारा मुकुन्द गुरूङलाई दिइएको थियो ।

अर्को सालको ब्यवस्थापनको जिम्मेवारी क्यूजिइ पल्टनलाई नै हस्तान्तरण गरिएको थियो । दिउसो १ बजे शुरू कार्यक्रम सांझ ७ बजेसम्म भएको थियो । अन्तमा सबैजना “नमरी बांचे दैवले सांचे अर्को साल फेरी भेंटौला है नम्बरी” भन्दै विदा भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू