शनिबार, साउन १२, २०८१
06:15 | ११:००

लण्डनबाट टियाले पठाइन् आफ्नो गाउँका विद्यार्थीलाई शैक्षिक सामाग्री

नेपाली लिङ्क अक्टोबर १०, २०२३

आफ्नो बुवाका साथ टिया

लण्डन । लण्डनस्थित रिभर एकेडेमीमा अध्ययनरत १३ वर्षीया बालिकाले आफ्नो गाउँको विद्यालयमा सहयोग गरेकी छन् ।

बागलुङ नगरपालिका—१२ अमलाचौर ज्यामिरे घर भै हाल लण्डनको रिभर एकेडेमीमा अध्ययन गर्ने टिया आचार्यले आफ्नो नेतृत्वमा केही रकम संकलन गरेर विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामाग्री पठाएकी हुन् ।  

गत वर्ष सो विद्यालय भ्रमण गरेकी उनले बेलायतबाट संचालित नेपालब्रिटेन डट कमको १६ औं वार्षिकोत्सवको अवसरमा एक भिडियो प्रस्तुत गरेर आर्थिक सहयोग संकलन गरेकी थिइन् । बेलायत लगायत विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुले सहयोग गरेका थिए ।  

टियाले गैरआवासीय नेपालीमार्फत अमलाचौरमा रहेको जगन्नाथ प्राविमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामाग्री र न्यानो कपडा पठाएकी हुन् ।

गत वर्ष आफ्ना आमाबाबुसँग अमलाचौर आएको बेला सोही विद्यालयमा अध्ययनरत विद्यार्थीसँग भेट्दै गर्दा उनले आफुले यहाँ अध्ययन गर्ने विद्यार्थीका लागि केही सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन् । 

सोही अनुसार उनी बेलायत पुगेपछि केही रकम संकलन गरि आफ्ना बाबुमार्फत विद्यार्थीका लागि न्यानो ज्याकेट, ट्रयाक सुट, जुत्ता, झोला, टुथ ब्रस, सावुन तथा स्टेशनरी सामान समेत सहित पठाएकी थिइन् ।

उनले पठाएको सामाग्री आइतबार एक कार्यक्रमबीच विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीका लागि हस्तान्तरण गरिएको विद्यालयका प्रधानध्यापक बुद्धिप्रसाद आचार्यले जानकारी दिए । 

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदी र कृष्ण पाठकले ती सामाग्री बालबालिकालाई हस्तान्तरण गरेका थिए । 


कार्यक्रममा टियाका बाबु पत्रकार चिरन शर्माले एक बर्ष अघि टिया नेपाल आउँदा देखेको विद्यालयलाई सहयोग गर्न चाहेपछि यो बर्ष सहयोग लिएर आएको बताए । यो बिद्यालयमा अधिकांश दलीत विद्यार्थी पढ्छन् ।

कार्यक्रममा सुवेदीले अबका दिनमा सामुदायिक विद्यालय बचाउन विद्यार्थी टिकाउन सक्ने कार्यक्रम ल्याउनुपर्ने बताए । उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सकेमा मात्र भोलीका दिनमा विद्यालय रहने भन्दै नत्र ग्रामीण तहका साना विद्यालयहरुको अस्तित्व जोगाउन मुस्किल पर्ने बताए । त्यसकालागि अभिभावक र शिक्षक मिलेर गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताए ।

राज्यले अब माथिल्लो कक्षाका विद्यालय भने घटाएर खर्च कटौती गर्ने तथा आवासीय विद्यालय बनाएर धेरै बालबालिकालाई एउटै स्थलमा पढाउने तथा गुणस्तर बिकास गर्ने काम थाल्नुपर्ने सुझाव दिए । अब संघीयता सँगै केन्द्रलेविद्यालय हेर्ने नभइ स्थानीय सरकारले नै हेर्नुपर्ने पनि बताए । उनले वित्तिय र प्रशासनिक क्षेत्रमा पनि संघीयता लागू भएमा मात्र देशको विकास सम्भव हुने धारणा राखे ।

सांसद पाठकले बालबालिका पढाउने नाउँमा सहर पस्ने र बिदेश जानेबाट गाउँघरका विद्यालय सुनसान भएको भन्दै बेलैमा बचाउने अभियानमा अभिभावक लाग्नुपर्ने सुझाव दिए । उनले विद्यालयमा गुणस्तर पनि बढाउनुपर्ने भन्दै राज्यले शिक्षा क्षेत्रलाई प्राथमकिता दिनुपर्ने धारणा राखेका थिए । 


कार्यक्रममा नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्द थपलिया, वडा अध्यक्ष कोपिलामणी शर्मा लगायतले बोलेका थिए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षता, चिरन शर्माको संचालन प्रधानाध्यापक बुद्धि चापागाईको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबीच, आइतवारै पृथ्वी हिरण्य माबिमा पनि शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले शिक्षा भौतिक पूर्वाधार बनेर मात्र गुणस्तर नहुने भएकोले त्यहाँका शिक्षक दक्ष बन्नुपर्ने, बिद्यालयमा प्राविधिक शिक्षाको शुरुवात हुनुपर्ने जस्ता सूचक पुरा गर्न सक्नुपर्ने धारणा राखे ।

उनले उक्त विद्यालयको भवन आर्कषक बनिसकेकोले गुणस्तर सुधार हुने तथा बिपन्न बालबालिकाको पढाइमा पहुँच बढाउने खालका कार्यक्रम जोड्ने काममा साथ दिने बताए । 

कार्यक्रममा शिक्षक, अभिभावक र जनप्रतिनिधिले बिद्यालयको गुणस्तर सुधार गर्दै प्रविधिमय बनाउने योजना सुनाए । ती योजना पुरा गर्न स्थानीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सिनाले अमलाचौरको भूमिले राष्ट्रिय स्तरका व्यक्तित्व जन्माएको स्मरण गर्दै विद्यालयमा गुणस्तरिय शिक्षामा जोड दिए । पूर्वविद्यार्थी चिरन शर्माले विद्यालयमा कम्प्युटर शिक्षामा भएको प्रगतिप्रति खुशी व्यक्त गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू