आइतबार, वैशाख १६, २०८१
01:12 | ०५:५७

महासचिव पदका उम्मेदवार बुद्धिसागर: पढाइ जस्तै व्यवसायमा पनि सधैं अग्रणी

नेपाली लिङ्क अक्टोबर ८, २०२३

लन्डन – पढाइमा सधैं प्रथम श्रेणी हासिल गरेका बुद्धिसागर सुवेदी गैर आवासीय नेपाली संघ (एनआरएनए) को महासचिव पदका उम्मेदवार हुन् ।

नेपालमा शिक्षण पेशासँगै विभिन्न संघसंस्था र समुदायसँग जोडिदै अमेरिका पुगेका सुवेदी हाल व्यवसायसँगै सामाजिक सेवामा व्यस्त छन् । उनले एनआरएनए अमेरिकाको विसकनसिन च्याप्टरको संस्थापक अध्यक्ष (२०१७–१९) बाट शुरु गरी एनसीसी अमेरिकाको उपाध्यक्ष सन् २०१९–२१ हुँदै सन् २०२१–२३ मा एनआरएनए अमेरिकाको अध्यक्ष भएर काम गरिसकेका छन् । उनी अहिले अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवालय चुस्त र प्रभावकारी बनाउन महासचिवमा उम्मेदवार बन्दैछन् ।

अध्ययन, अनुसन्धान र विभिन्न अवसरका लागि करिब ५० लाख भन्दा बढी नेपालीहरू अहिले देश बाहिर रहेको अनुमान गरिन्छ । गैरआवासीय नेपालीहरूमध्ये केहीले विदेशी भूमिमा अध्ययन, अनुसन्धान र आर्थिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेका छन् । तीनै मध्येका एक सुवेदी स्याङजाको टग्सार ३ मा जन्मेका हुन् । सुवेदीले स्थानीय डाँडा प्राविबाट आफ्नो पढाइको यात्रा थालेका थिए ।

२०२६ सालमा जन्मेका सुवेदीले माडी मावि चितवनबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । वन विज्ञान क्याम्पस पोखराबाट आइएस्सी फरेष्ट्री प्रथम श्रेणीमा उत्तीर्ण गरे पछि उनले पिपल्स क्याम्पस पकनाजोलबाट बि.कम. प्रथम श्रेणीमा पुरा गरे । केन्द्रीय क्याम्पस कीर्तिपुरबाट एमबिए प्रथम श्रेणीमा पुरा गरेका उनले एमएड र एलएलबीको अध्ययन पनि सकेका छन् ।

उनको अध्ययन र अध्यापनमा गहिरो रुचि छ । शिक्षण पेशा थालेका सुवेदीले कालिकोट जिल्लाको सत्यदेवी मावि जुथियामा प्रधानाध्यापक भएर जिम्मेवारी सम्हालेका थिए । त्यसपछि केन्द्रीय क्याम्पस कीर्तिपुर, नेपाल कमर्स क्याम्पस मीनभवन, पब्लिकयुथ क्याम्पस पकनाजोल र एभरेष्ट क्याम्पस नयाँ बानेश्वरमा उपप्राध्यापक भएर उनले प्राध्यापन गरे।

गएको २० वर्ष देखि अमेरिकालाई कर्म थलो बनाएका सफल नेपाली व्यवसायीमध्ये एक हुन् बुद्धि सागर सुवेदी । उनले सन् २००६ बाट अमेरिकामा आफ्नै व्यवसाय सुरु गरे । सुवेदीका पाँच तारे होटेलदेखि रेस्टुरेन्ट, स्टोरसहित ४० भन्दा बढी व्यवसाय सञ्चालनमा छन् । उनले अमेरिकामा मात्रै करिब २ सय मिलियन डलर (झन्डै २५ अर्ब रुपैयाँ) भन्दा बढी लगानी गरिसकेका छन् ।

सुवेदीको अमेरिकामा मात्र सीमित हुने सोचाई छैन । जन्मभूमिको विकास र संमृद्धिका लागि वैदेशिक लगानी भित्राउने र रोजगारीका अवसरहरू सिर्जना गर्ने उनको चाहना छ । सुवेदीले रुपन्देहीमा पाँचतारे टाइगर प्यालेस रिसर्ट खरिद गरेर सञ्चालनमा ल्याउन लागेका छन् । होटल सञ्चालनमा आउनासाथ नेपालमा झन्डै एक हजार जनालाई रोजगारीको अवसर मिल्ने अनुमान गरिएको छ ।

सुवेदी व्यापार व्यवसायमा मात्र होइन सामाजिक र परोपकारी काममा पनि उत्तिकै सक्रिय छन् । सन् २०२१–२३ मा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा निर्वाचित सुवेदीले संस्थालाई अर्को उचाइमा पुराउन सफल भए । एनआरएनए अमेरिकाको स्थापना कालदेखि झोलामा रहेको कार्यालय भवन अफिस कन्डोमिनियम खरिद गरेर आफ्नै कार्यालयबाट सञ्चालन गराउन उनी सफल भए । उनले एनआरएनए अमेरिकालाई संस्थागत र व्यवस्थित बनाउन निकै मेहनत गरे । २ लाख ९२ हजार डलर अर्थात् ३ करोड ७५ लाख नेपाली रुपैयाँमा भवन खरिद गरिएको थियो ।

“आफ्नो व्यक्तिगत आर्थिक सहयोग र मनकारी दाताहरूको सक्रियतामा एनआरएनए अमेरिकाको कार्यालय भवन खरिद गरेका थियौं । संस्थालाई कुनै पनि आर्थिक व्ययभार नछोडी रकम चुक्ता गरिएको छ,” सुवेदीले भने । आफ्नै कार्यालय भवन खरिद गरेर संस्थाको जग बलियो बनाउने प्रयास अरू देशका एनसीसीहरुका लागि पनि रोल मोडल हुनसक्छ ।

एनआरएनए अमेरिकाको कार्यालय भवन

मातृभूमिको सेवामा सधैं तत्पर

विश्व समुदाय कोभिडको महामारीसँग जुधिरहेको समयमा नेपालीलाई सहयोग गर्न सुवेदीकै नेतृत्वमा अमेरिकाबाट ३ करोड ६० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरियो । “बाढी, पहिरो, भूकम्प वा महामारीमा अमेरिकी सरकारसँग समन्वय गरेर गैरआवासीय नेपाली संघ अमेरिकाले नेपालमा सहयोग सामग्री निःशुल्क ढुवानी गराउन सक्ने सम्बन्ध विकास भएको छ” उनले भने । नेपाल सरकार र विदेशी निकाय बीचमा रहेर एनआरएनएले प्रभावकारी काम गर्न सक्छ भन्ने ब्यबहारबाटै उनले प्रमाणित गरिसकेका छन् ।

महासचिवको उम्मेदवारीसँगै नेपाल सरकार र अन्य देशका सम्बन्धित निकायसँग विश्वासिलो संस्थागत सम्बन्ध बनाउन सक्ने उनको अठोट छ । उनले विदेशमा बस्ने नेपालीको बृहत्तर हितमा काम गर्ने सोच बनाएका छन् । एनआरएनए अन्तर्राष्ट्रिय समुदायसँग मिलेर नेपालको हितमा काम गर्ने भरपर्दो संस्थाको रूपमा स्थापित हुनेमा पनि उनी विश्वस्त छन् ।
नेपालको पहिचान विदेशी भूमिमा झल्काउन र पर्यटन प्रवर्द्धनमा सघाउन अमेरिकाका प्रमुख शहरहरूमा सुवेदी नेतृत्वको कार्यसमितिले काम गरेको थियो । अमेरिकाका प्रमुख सहरका मेयर, उपमेयर र स्थानीय निकायका प्रतिनिधिहरुको उपस्थितिमा त्यस्ता कार्यक्रमहरु गरिएका थिए । विदेशमा हुर्कँदो दोस्रो पुस्ता र विदेशीहरूलाई नेपालप्रति आकर्षित गराइ राख्न नेपाली पहिचान झल्काउँदै पर्यटन प्रवर्धनमा त्यस्ता कार्यक्रमले सघाउने उनको विश्वास छ ।

विदेश जाने नेपालीको संख्या दिनप्रतिदिन बढे सँगै घटना र दुर्घटना पनि बढ्दै छन् । विदेशमा ज्यान गुमाउने नेपालीहरूको शव जन्मभूमि फर्काएर अन्तिम संस्कार गर्न सहयोग गर्न संघ संस्थाहरूमाथि भार थपिँदो छ । दुई वर्षको बीचमा २० भन्दा बढी नेपालीको शव नेपाल पठाउन एनआरएनए अमेरिका, च्याप्टर र स्थानीय संघ मिलेर काम गरेका थिए । त्यसका लागि ४ लाख डलर अर्थात् करिब ५ करोड रुपैयाँको हाराहारीमा सहयोग संकलन गरिएको थियो ।यसका लागि ठोस कार्यनीति बनाएर काम थाल्नु पर्ने सुवेदीको भनाइ छ ।

कोभिड महामारीमा नेपाल पठाइंदै स्वास्थ्य उपकरण र सामाग्री

अमेरिकामा हुर्किरहेका नेपाली बालबालिकाका लागि आफ्नै संस्कार, भाषा र संस्कृति सिकाउन नेपाली कक्षाहरुको शुरुवात गरिएको छ । त्यसका लागि पाठ्यक्रम विकास गर्ने, अमेरिकामा अध्ययनका लागि पुगेका विद्यार्थीहरुलाईसहयोग गर्नमा सुवेदी नेतृत्वको समितिले काम गरेको थियो ।

एनआरएनए आइसीसीको ‘एक एनसीसी एक च्यारिटी’ अन्तर्गत सल्यान जिल्लाको एक दुर्गम गाउँमा सुवेदी नेतृत्वको एनआरएन अमेरिकाले मिनी प्रसूति गृह निर्माण ग-यो । देवघाटको बृद्धाश्रममा मेडिकल उपकरण प्रदान, चितवनमा पुस्तकालय निर्माणको काममा पनि एनआरएनए अमेरिकाले सहयोग गरयो । संस्था र समुदायको हितमा ठूलो सहयोग गर्दै आएका सुवेदीले विकास निर्माणको काम, आपतविपत र परोपकारी काममा दुई वर्षमा करिब २ लाख डलर अर्थात् दुई करोड ५० लाख रुपैयाँ व्यक्तिगत सहयोग गरिसकेका छन् ।

‘मैले सिकेको अनुभव र सीप एनआरएनएको संस्थागत विकास, बलियो तथा पारदर्शी सचिवालय बनाउन मैले प्रयोग गर्ने छु। राष्ट्रिय समन्वय परिषदहरुलाई अधिकारसम्पन्न र सशक्त बनाउन नै मैले महासचिव पदमा उम्मेदवारी दिएको हुँ’, सुवेदीले भने- ‘संसारभरि रहनु भएका एनआरएन डेलिगेट्सहरुको साथ, सहयोग र स्नेह पाउनेमा म ढुक्क छु।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू