शनिबार, साउन १२, २०८१
05:39 | १०:२४

एकताको महाधिवेशन बनाउन प्रयास जारी छ: एनआरएनए अध्यक्ष आचार्य

नेपाली लिङ्क अक्टोबर ८, २०२३

काठमाडौं –गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले संघको ११ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने आफ्नो प्रयास जारी रहेको बताएका छन् ।

जीएनएन नेटवर्कसंग कुरा गर्दै आचार्यले एनआरएनएमा अन्तिम समयमा सहमति हुने गरेको इतिहास स्मरण गर्दै बिनोद कुँवरले नेतृत्व गर्नु भएको समूहलाई पनि समेट्न आफूहरुले प्रयास गरिरहेको बताए।

गत असार ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा दुवै पक्षले संस्थागत एकता गर्न हस्ताक्षर गरेका थिए। सोही सहमति अनुसार एकताको ११ औं महाधिवेशन गर्नेबारे छलफल गर्न दुवै पक्ष सम्मिलित बृहत् बैठक गत साउन २७ गते बस्ने भनिएको थियो । तर अन्तिम अवस्थामा उक्त बैठक स्थगित गरिएको थियो।

१० औं महाधिवेशन समयमा हुन नसकेकाले  यसपटक समयमै महाधिवेशन गर्नुपर्ने आचार्यले बताए । एनआरएनएको १० औं महाधिवेशन डेलिगेट्स विवादले समयमै हुन सकेको थिएन।

चुनाव भनेपछि सानोतिनो विवाद हुने गरेकाले अबको महाधिवेशनमा अघिल्लो विवादबाट पाठ सिकेर अगाडि बढेको अध्यक्ष आचार्यको भनाई छ ।

“१० औं महाधिवेशन जुनजुन कुराले समयमा गर्न सकेका थिएनौं, त्यसलाई समीक्षा गर्दै काम गरेका छौं,” उनले भने, “संसारभर रहेका नेपाली, नेपाल सरकारलगायत सबैलाई अधिवेशन सफल पार्नका लागि सहयोग पुरयाउन आग्रह गर्दछु ।”

एनआरएनए महाधिवेशन तयारी लगभग अन्तिम चरणमा पुगेको र १७ अक्टोबरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट काठमाडौंको सोल्टी होटलमा समुद्घाटन हुने कार्यक्रम तय भैसकेको उनले बताए । 

महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । सानातिना विवादित कुरालाई सहमतिकै आधारमा सल्टाएर संस्थालाई अगाडि लैजाने र एकताबद्ध भएर नयाँ नेतृत्व चयन गरेर महाधिवेशन गर्ने उनले बताए ।

संस्थाको लागि काम गर्ने आत्मविश्वासका साथै संसारभरिका नेपालीका समस्या समाधान गर्न पहल गर्ने  इच्छाका साथ आफू नेतृत्वमा आएको र संस्थाको केही ऐतिहासिक मुद्दा समाधान गर्न आफूहरु सफल भएको उनले बताए ।

एनआरएनका मुद्दा समेटिएका नागरिकता विधेयक, सामाजिक सुरक्षा कोषजस्ता विषयमा संस्थाले पहल गरेर काम गर्न सफल भएको अध्यक्ष आचार्यले बताए ।

“बाहिर बसेका नेपालीले ज्ञान, सिप, पूँजी लिएर देश जान्छौं भन्ने कुरालाई हामीले बुझाउन सकेका थिएनौं । सन् २०११ देखि नै सामाजिक सुरक्षा कोषको लागि आवाज उठाएका थियौं,” उनले भने, “ अहिले एनआरएन लगानी, मताधिकार साथै  बजेटमा गैर आवासीय नेपाली संघको कुरा सरकारले सुनेको छ ।”

सबै श्रमिकहरुलाई कोषमा आबद्ध गर्ने गरी कार्यक्रम ल्याएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि प्रशंसा गरेका थिए । सबै राजनीतिक दलसँग सम्बन्ध बढाउँदै एनआरएनए नेपालको विकासको सच्चा साझेदारको  उदाहरण बनेको उनले बताए । सामाजिक सुरक्षा कोषमा श्रमिकको हितमा कुरा उठाउने एनआरएनए नै भएको उनले बताए ।

हाल सामाजिक सुरक्षा कोषमा २ लाख जनाभन्दा बढी आबद्ध भैसकेका छन् । १ अर्ब रुपैयाँ भन्दा बढी रकम संकलन भैसकेको छ । कुनै पनि व्यक्तिलाई परेको बेलामा सरकारले १ लाख रुपैयाँसम्म दिनसक्ने व्यवस्था छ । यसरी संकलन हुने अरबौं रकमलाई  सरकारले राम्रोसँग सदुपयोग गर्न सकेमा विकासका ठूलठूला  काम गर्न सकिने अध्यक्ष आचार्यले बताए । “सबै नेपाली सुरक्षा कोषमा आबद्ध भए भने देशको विकास गर्न कति मद्दत पुग्ला ? हामी सहजै अनुमान गर्न सक्छौं” उनले भने ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई मात्रै नभई नेपालका साना तथा मझौला व्यापारीसहित विभिन्न सेक्टरलाई सरकारले उक्त कोषमा समावेश गर्दैछ । “देश विकासमा सानो भए पनि सामाजिक सुरक्षाको प्रत्याभूति गर्न सकियो । हाम्रो  कार्यसमितिको कार्यकालको सुरुमै यो कार्यक्रम लागू भएपछि खुसी लागेको छ”, उनले भने । 

एनआरएनएलाई धनीमानीको संस्था भनेर आरोप लगाइने गरेकाले सबैलाई समेट्ने गरी सामाजिक सुरक्षा कार्यक्रम ल्याइएको आचार्यको भनाई छ ।

त्यसैगरी संविधानमै गैर आवासीय नेपाली संघको नागरिकताका विषयमा स्पष्ट लेखिसकेकाले अब तुरुन्तै परिवर्तन गर्न नसकिने उनले बताए । 

अब छिट्टै अनलाइन मार्फत नागरिकताको प्रक्रिया अगाडि बढाउन सक्नेगरी काम भैरहेको जानकारी गृह मन्त्रालयले दिएको अध्यक्ष आचार्यले बताए । ‘अझै पनि नागरिकता ऐन तथा नियमावलीमा केही परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको छ । संविधानमै परिवर्तन गरेर पनि काम गर्नुपर्ने अवस्था छ,’ उनले भने 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू