शनिबार, साउन १२, २०८१
03:15 | ०८:००

एनआरएनए यूके वेल्स राज्य परिषदले लियो शपथ

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२३


लन्डन । एनआरएनए यूके राज्य समन्वय परिषद वेल्सको १३ सदस्यीय नयां कार्यसमितिले शपथ ग्रहण गरेको छ ।

आइतबार वेल्सको कुम्ब्रानमा आयोजित एक समारोहमा अध्यक्ष मोतिप्रसाद पुन नेतृत्वको कार्यसमितिलाई एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले शपथ गराउंदै सर्टिफिकेट प्रदान गरे । सम्पूर्ण कार्यसमितिलाई फेथा लगाएर बधाइ पनि दिइयो । 

कार्यक्रममा राज्य समन्वय परिषद उपाध्यक्ष दिपक सुब्बाले स्वागत मन्तव्य दिएका थिए ।  

कार्यक्रम एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर र प्रदेश १ का पूर्व सांसद सर्वध्वज साबाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । 


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आफ्नो मुख्य एजेण्डा वंशजको नेपाली नागरिकता निरन्तरता आजको आवश्यकतासंग हातेमालो गर्न वेल्सले प्रतिवद्धता गरेर शपथ लिएकामा बधाई तथा शुभकामना दिए । 

वेल्सलाई एनआरएनए यूकेको मेरुदण्ड मानेको बताउंदै उनले केन्द्रबाट वेल्सलाई सधैं सहयोग र साथ रहने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष गाहामगरले सबै पक्षलाई समेटेर अगाडि बढ्न वेल्स परिषदलाई सुझाव पनि दिए । 

नेपालको संविधानको धारा २९१ ले गोर्खा र वंशजको नेपाली नागरिकहरुलाई अन्याय गरि विदेशीलाई भने एक हातले सिन्दुर र अर्को हातले नागरिकता दिने प्रावधान गरेको आरोप लगाए । 

नेपालले गोर्खाहरुलाई एनआरएन नागरिकता भिडाएर मताधिकार र राजनीतिक अधिकार समेत नदिंदा दोश्रो पुस्तासंग मातृभूमिको नाता टुटाएको धारणा गाहामगरले राखे । नेपाल फिजी र सिक्किमको बाटोमा गएको दावी गर्दै वंशजको नेपाली नागरिकताका लागि अब जाग्ने बेला आएको धारणा राखे । 

अध्यक्ष गाहामगरले बेलायतमा राजदूत र नेपालमा प्रधानमन्त्री अहिलेसम्म गोर्खा पृष्ठभूमिका नहुनु दुःखद भएको उल्लेख गर्दै गोर्खाहरुमाथि २०८ वर्षदेखि भेदभाव भइरहेकाले अब सशक्त रुपमा उत्रिनुपर्नेमा जोड दिए । तर, यसका लागि गोर्खा संगठनहरुबीच एकता आवश्यक भएको उनको भनाइ थियो ।

गाहामगरले नक्कली भुटानी नेपालीले नेपाल, भुटान र बेलायतलाई धोका दिएको आरोप लगाए । उनले आफ्ना एक खम्बा राष्ट्र राई र वेल्सका गोर्खा अन सर्भिस नवीन थापालाई असामयिक रुपमा गुमाउनु परेको भन्दै श्रद्धाञ्जली पनि अर्पण गरे ।  


एनआरएनए यूके उपाध्यक्ष अमृत घलेले वेल्स परिषदलाई बधाई दिंदै एनआरएनए यूके एकमात्र रहेको र त्यसको नेतृत्व गर्ने प्रेम गाहामगर नै आधिकारिक भएकाले भ्रममा नपर्न अनुरोध गरे । 

एनआरएनए यूके आइसीसी सदस्य ओमप्रसाद थापा काउचाले गोर्खाहरुकै जगमा एनआरएन स्थापना भएको स्मरण गर्दै एनआरएनए आइसीसीबाट पहिला धेरै आशा गरिएकामा उल्टो गोर्खाहरुलाई एनआरएनए नागरिकतामा धोका दिएको बताए । 

कार्यक्रममा एनआरएनए यूके वेल्स राज्य समन्वय परिषदका अध्यक्ष मोतिप्रसाद पुनले जिम्मेवार भएर समाज हितका लागि काम गर्न आफ्नो नयां कार्यसमितिलाई अनुरोध गरे । 

२० हजार ७०७ पञ्जीकृत सदस्यका अगाडि ४ हजार सदस्य बोकेर एक समूहले ‘हामी आधिकारिक हुं’ भन्दै हिंड्नु हांस्यास्पद भएको बताउंदै पुनले लोकतान्त्रिक मुलुक बेलायतमा बसेर इमान्दार बन्न आग्रह गरे । 

बेलायतका नेपाली एकजुट हुने हो भने नेपालको समृद्धिका लागि जे पनि गर्न सकिने आत्मविश्वास उनको थियो ।  

कार्यक्रममा एनआरएनए यूके वेल्स राज्य समन्वय परिषदका प्रमुख सल्लाहकार बद्री योङयाले नयां कार्यसमितिलाई बधाई दिंदै संस्थालाई पृथक ढंगबाट लैजान सहयोग गर्ने बताए।  


कल्पना कन्दङवाले सञ्चालन गरेको कार्यक्रममा प्रदेश १ पूर्व सांसद सर्वध्वज साबा, एनआरएनए यूके आइसीसी सदस्यहरु ओमप्रसाद थापा काउचा, शारदा गुरुङ र भक्त दर्जी, एनआरएनए यूके उपाध्यक्षहरु अमृत घले, चम्पा थापा र अनिल मल्ल, सहकोषाध्यक्ष झलक पुन, सल्लाहकार डा. भीम पुन, युथ कोअर्डिनेटर विशाल राई, सदस्यहरु दिनेश पुन र असल लिम्बु, कन्सपीसियस ग्यालेन्ट्री क्रस (सिजिसी) अवार्ड विजेता गोर्खा दीपप्रसाद पुन, नेपालकी लोक गायिका देवी घर्तीमगर लगायत स्थानीय वेल्सवासीको उल्लेख्य सहभागिता थियो ।

तस्बिर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू