शनिबार, साउन १२, २०८१
02:15 | ०७:००

क्षेत्री समाज यूकेको १६ औं वार्षिकोत्सवमा सांगीतिक धमाका

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२३


लन्डन- क्षेत्री समाज बेलायतले वार्षिक भेटघाट तथा १६ औं वार्षिकोत्सव कार्यक्रम २०२३ सम्पन्न गरेको छ ।

अल्डरसटस्थित एम्पाएर हलमा शनिबार आयोजित कार्यक्रममा बेलायतवासी तीन सय बढी क्षेत्री तथा गैर क्षेत्रीहरुको उपस्थिति थियो ।

क्षेत्री समाज यूके अध्यक्ष श्रीमती श्रद्धा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका मिलिटरी एट्याची ब्रिगेडियर जनरल रत्नबहादुर गोदार प्रमुख अतिथि थिए। कार्यक्रममा नेपाली संघसंस्थाका प्रतिनिधि, व्यवसायी, पत्रकार तथा बेलायतका विभिन्न क्षेत्रबाट नेपालीहरुको सहभागिता थियो ।

अध्यक्ष थापा, प्रमुख अतिथि गोदार र संस्थाका संरक्षक ध्रुव केसीले  संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि ब्रिगेडियर जनरल रत्नबहादुर गोदारले क्षेत्री समाज यूकेले विभिन्न क्षेत्रमा पुर्‍याउंदै आएको योगदानको प्रशंसा गरे।

विदेशमा रहेर पनि नेपाली कला, संस्कृति प्रवर्द्धनमा समाजले  निर्वाह गर्दै आएको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो।

शुभकामना मन्तव्य दिंदै तमुधिं यूके अध्यक्ष हरि गुरुङले नेपाल राष्ट्र निर्माणमा क्षेत्रीहरुको योगदान स्मरण गरे। आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन क्षेत्री समाज यूकेले महत्वपूर्ण योगदान गरेको भन्दै उनले यसलाई निरन्तरता दिन समेत आग्रह गरे।

संरक्षक ध्रुव केसीले ५० वर्षअघि आफू बेलायत आउँदा र अहिलेको अवस्थालाई स्मरण गर्दै सबै जातिका नेपाली एक भएर र एकापसमा मिलेर अगाडि बढ्नुपर्ने बताए ।

अध्यक्ष थापाले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै एकता, आत्मियता र आपसी सद्भावनालाई बढाउने उद्देश्यले क्षेत्री समाज यूकेले कार्यक्रम आयोजना गरेको बताइन् ।

संस्थाका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक टेकबहादुर जीसीले स्वागत मन्तव्य दिंदै आर्थिक सम्वृद्धि र व्यक्तित्व विकासमा मात्र नभएर मातृभूमि नेपालमा पर्ने विभिन्न विपत्तिमा पनि समाजले सहयोग गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा विभिन्न पेशा र विधामा उत्कृष्टता हासिल गर्ने समाजका सदस्य र कलाकारहरुलाई सम्मानपत्र वितरण  गरिएको थियो।

कार्यक्रमको पहिलो औपचारिक सत्र महसचिव ध्रुव गौतमले सञ्चालन गरेका थिए। पट्यारलाग्दो आसन र भाषण नगराइएको कार्यक्रममा छोटो औपचारिकतापछि सिधै मनोरञ्जनात्मक कार्यक्रम शुरु गरिएको थियो।

त्यस अवसरमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु राजु परियार, शिला आले, शोभा कार्की, सुदीप क्षेत्री, शिव हमाल, बन्दना पाण्डे, राजेश बर्देवालगायतले विभिन्न गीतसंगीतका साथै लाइभ दोहोरि प्रस्तुत गरेका थिए।

त्यस्तै, मिसेस युनिभर्स नेपाल विमला बुढाथोकी, रचना क्षेत्रीसहितका स्थानीय कलाकारले पनि आकर्षक नाच देखाएका थिए। ।

कार्यक्रममा विभिन्न आकर्षक पुरस्कारहरुसहित ‘राफल ड्र’ पनिगरिएको थियो। जसको संयोजन माया केसीले गरेकी थिइन्। डिजेको भूमिका बेलायतका लोकप्रिय डिजे हेम विष्टले निर्वाह गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू