शुक्रबार, वैशाख २१, २०८१
07:57 | १२:४२

धम्पुस पोखरी परिवार यूकेको वार्षिक कार्यक्रम सम्पन्न

नेपाली लिङ्क सेप्टेम्बर २०, २०२३

लन्डन- धम्पुस पोखरी घोताने परिवार यूकेको १३औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष गोलमान गुरुङको अध्यक्षतामा शनिबार अल्डरसटस्थित एम्पायर हलमा भएको कार्यक्रममा आफ्नै सदस्य मेडवेका मेयर काउन्सिलर नीना गुरुङ प्रमुख अतिथि रहेकी थिइन् ।

कार्यक्रमका विशेष अतिथिहरुमा सुखवती बौद्ध गुम्बा गाईघाट पोखराका प्रमुख लामा श्रद्धेय मनबहादुर गुरुङ, धम्पुस पोखरी घोताने परिवार नेपालका बर्तमान अध्यक्ष क्याप्टेन रिटायर्ड बुद्धिमान गुरुङ र मेयर कन्सोर्ट ताईकाजी गुरुङ थिए ।

प्रमुख अतिथि, लामागुरु, संरक्षक र समाजका अध्यक्ष गोलमान गुरुङले पानसमा द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । त्यसपछि नेपाल र बेलायतको राष्ट्रिय धुनहरु बजाइएको थियो ।

समाजका महासचिव हरिमाया (भावाना) गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा प्रथम उपाध्यक्ष भगवान गुरुङले स्वागत मन्तव्य दिएका थिए । त्यसपछी अत्यन्तै सुन्दर बाँसुरीको धुनहरु प्रस्तुत गरेर बाँसुरी बादक धन बहादुर गुरुङले सबैलाई मन्त्रमुग्ध पारे ।

सम्मान तथा शुभकामना कार्यक्रममा परिवारका आयो गोर्खाली पुस्तक लेखक टीम आई गुरुङ र कम्प्युटर साइन्समा पीएचडी गरी हाल प्राध्यापनरत आशिष गुरुङलाई प्रशंसा पत्रले सम्मान गरियो।

हाल विभिन्न विषय र क्षेत्रमा उच्च शिक्षा हासिल  गरेका किशोर किशोरीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा विभिन्न विश्वविद्यालयबाट स्नातक गर्नेहरु क्रमशः रोनित गुरुङ, आकंश्य गुरुङ र प्रबिन गुरुङ थिए । त्यसैगरी नयाँ सदस्य विकास गुरुङ, नव दाम्पत्य जोडीहरु र पदोन्नति भएका मिलन गुरुङलाई पनि बधाई दिइयो। साथै, नेपालबाट बेलायत भ्रमणमा रहेका सबैजनालाई स्वागत, सम्मान गरिएको थियो ।

औपचारिक कार्यक्रमको अन्त्यतिर चेलीबेटीहरुको तर्फबाट शान्ति गुरुङले माइतीहरुको लागि मन्तव्य राखिन् । त्यसैगरी चेलीबेटीहरुले सदाझैँ कोशेलीस्वरुप रोटी र रक्सीले माईतीहरुलाई सम्मान गरे । उक्त रोटी र रक्सी चेली जगना गुरुङ र प्रेमबहादुर गुरुङले प्रायोजन गरेका थिए।

त्यसैगरी धम्पुस पोखरी घोताने परिवार यूकेको बुहारी नीना गुरुङ बेलायतको स्थानिय तहको निर्वाचनमा मिडवेको मेयरमा निर्वाचित भएर इतिहास रच्न सफल भएकोमा धम्पुस पोखरी घोताने परिवार यूकेको तर्फबाट केक काटेर खुशियाली मनाउंदै सम्मान र शुभकामना दिइएको थियो।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा समाजका संरक्षक लेप्टेनेन्ट रिटायर्ड जसबहादुर गुरुङ, धम्पुस पोखरी घोताने परिवार नेपालका वर्तमान अध्यक्ष क्याप्टेन रिटायर्ड बुद्धिमान गुरुङ र मौलिक गुरुङ पोशाकमा सजिएर आएकी प्रमुख अतिथि मेडवेकी मेयर काउन्सिलर नीना गुरुङले समाजले आयोजना गरेको वार्षिक भेटघाट कार्यक्रममा सहभागी हुन पाउँदा एकदमै खुशी व्यक्त गर्दै सम्मानित व्यक्तित्वहरुलाई हार्दिक बधाई सहित हरितालिका तीजको शुभकामना दिए ।

दोस्रो चरणको सांस्कृतिक कार्यक्रम हरिमाया गुरुङको नेतृत्वमा सञ्चालन भएको थियो । सांस्कृतिक कार्यक्रममा दाजुभाई र चेलीबेटीले उत्कृष्ट नृत्यहरू प्रस्तुत गरे । त्यसपछि नेपालको राष्ट्रिय कलाकार एवं लोक दोहोरी गायिका देवी घर्ती मगरको सुमधुर स्वरले उपस्थित सबैको मन जितेको थियो । निर्धारित समयमा सुरु भएको औपचारिक कार्यक्रम पश्चात प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमलाई दर्शकहरुले झुमेर भरपूर मनोरञ्जन लिएका थिए ।

आकर्षक पुरस्कारहरु रहेको ‘राफल ड्र’ ले पनि कार्यक्रममा रौनकता थप्यो । उक्त भाग्यशाली चिट्ठा हरिमाया गुरुङले सञ्चालन गरेकी थिइन भने भाग्यशाली विजेताहरुलाई पुरस्कार वितरण समाजका जेष्ठ नागरिक आमाहरु र पहिलो पुरस्कार प्रमुख अतिथिले वितरण गरे ।

कार्यक्रममा खाना व्यवस्थापन साथै पेय पदार्थमा एम्पायर हल रेष्टुरेन्ट, साउण्ड सिस्टममा कमल थापा मागर, फोटोग्राफीमा सन्तोष कोन्मे गुरुङ र भिडियोग्राफीमा नयन्द्र राईले विशेष भूमिका खेलेका थिए ।

कार्यक्रमको अन्तमा समाजका अध्यक्ष गोलमान गुरुङले वार्षिक भेटघाट कार्यक्रममा आफ्नो सुन्दर नृत्य, सुमधुर स्वर, मीठो प्रस्तुति साथै धुनहरु प्रस्तुत गरी भरपूर मनोरञ्जन गराइदिएकोमा समाजको तर्फबाट सबैलाई धन्यवाद दिए । साथै सम्मानित व्यक्तित्वलाई बधाई तथा शुभकामना र  कार्यक्रममा उपस्थित सबैजनालाई धन्यवादसहित उनले हरितालिका तीजको शुभकामना दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू