शनिबार, असोज २६, २०८१
14:58 | १९:४३

भारत र क्यानडाबीच बढ्यो तनाव

रासस/एएफपी सेप्टेम्बर १९, २०२३

नयाँदिल्ली, असोज २ गते । भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो ।

भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा रहेका क्यानडाका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराएको छ । नयाँ दिल्लीले निष्कासन गरेका क्यानडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छाड्न आदेश दिएको छ ।

यो निर्णयले भारतको आन्तरिक मामिलामा क्यानडाली कूटनीतिज्ञहरूको हस्तक्षेप र भारत विरोधी गतिविधिहरूमा उनीहरूको संलग्नता देखिएको विदेश मन्त्रालयका एक जना अधिकारीले बताएका छन् ।

विधिको शासनप्रति दृढ प्रतिवद्धतासहितको लोकतान्त्रिक राजनीतिक पद्धति अपनाएको भारतमाथि क्यानडाले लगाएको आरोपलाई विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आधारहीन भएको टिप्पणी गरेका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्को आकस्मिक बैठकमा हरदीपसिंह निज्जरको हत्यामा नयाँ दिल्ली संलग्न रहेको आरोप लगाएका थिए । गत जुनमा निज्जर ब्रिटिस कोलम्बियामा मृत अवस्थामा भेटिएका थिए ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडामा भारत विरोधी गतिविधि बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै क्यानडाको भूमिलाई भारतविरुद्ध उपयोग हुन नदिन आफ्ना समकक्षीलाई अनुरोध गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू