शुक्रबार, वैशाख २१, २०८१
07:09 | ११:५४

नेपाली साइक्लिङ क्लब यूकेको लन्डन-बेल्जियम साइकलयात्रा, ब्रसेल्समा राजदूतको स्वागत

नेपाली लिङ्क सेप्टेम्बर १८, २०२३

लन्डन। नेपाली साइक्लिङ क्लब यूकेले विश्व शान्तिको कामनासहित लन्डन-बेल्जियम साइकलयात्रा सम्पन्न गरेको छ।

सेप्टेम्बर ११ को घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा ‘९/११ पिस राइड लन्डन- ब्रसेल्स’ नाम दिइएको तीन दिने यात्रा क्लबका १३ सदस्यले पूरा गरे।

सेप्टेम्बर ९ मा लन्डनबाट शुरु भएको झन्डै तीन सय किमी दूरीको साइकलयात्रा पहिलो दिन डोभरसम्म पुगेको थियो। दोस्रो दिन बेल्जियमको घेन सिटी पुगेका साइकलयात्रीहरुलाई स्थानीय हिमालयन रेष्टुरेन्टमा जनक सुवेदी र विकल अधिकारीले स्वागत गरेका थिए।  

साइकलयात्रीहरु तेस्रो दिन सेप्टेम्बर ११ मा अन्तिम गन्तव्य ब्रसेल्स पुगेका थिए। ब्रसेल्सको नेपाल घरमा बेल्जियमका लागि नेपालका राजदूत गेहेन्द्र राजभन्डारीले साइकलयात्रीहरुलाई स्वागत गरेका थिए।   

उनले शान्तिको कामनासहित आयोजित अन्तरराष्ट्रिय साइकलयात्राले शान्तिको सन्देश संगसंगै पारस्परिक मित्रता र नेपालको पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। 

उनले स्वास्थ्यका लागि साइकल संस्कृतिको प्रोत्साहन गर्न नेपालका संघीय तथा स्थानीय सरकारहरुसँग अनुभवको आदानप्रदान गर्दै साइकल नीति तथा पर्यटन कार्यक्रम प्रवर्द्धन गर्न क्लबले भूमिका खेल्न सक्ने धारणा राखे। 

क्लबका अध्यक्ष प्रसिद्ध प्रधानले बेलायतको नेपाली समुदायमा स्वस्थ जीवनका लागि साइकल चलाउन प्रेरणा जगाउने उद्धेश्यले नियमित रुपमा अभ्यास गराउंदै आएको जानकारी गराए। 

क्लबका सदस्यहरुले आफ्नै व्यक्तिगत खर्चमा यस्ता कार्यक्रम गर्दै आएका छन्। उनीहरुले गत अप्रिल १७ देखि २१ सम्म पोर्चुगलको लिस्बनदेखि अल्गार्भसम्मको करिब ३ सय ५० किमी दूरीको साइकलयात्रा पूरा गरेको क्लबका एक संस्थापक ह्यारी गुरुङले बताए ।

लन्डन- बेल्जियम साइकलयात्रामा क्लबका सदस्यहरु अमिर कर्माचार्य, अनिल शाही, भाष्कर कर्माचार्य, विक्रम जोशी, हरिकृष्ण न्यौपाने, ह्यारी गुरुङ, नारायणप्रसाद अधिकारी, प्रसिद्ध प्रधान, पूर्णकुमार श्रेष्ठ, पुष्कर राजकर्णिकार, रवि रिमाल, राजेन्द्र आले र सुलभ पन्त सहभागी थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू