शुक्रबार, वैशाख २१, २०८१
05:07 | ०९:५२

‘जीटुजी’ निर्णायक वार्ताअघि गोर्खाहरुको भेटघाट तीव्र

नेपाली लिङ्क सेप्टेम्बर १२, २०२३

लन्डन । भूतपूर्व गोर्खा नेताहरुले बेलायत र नेपाल सरकार (जीटुजी) बीच निर्णायक वार्ता हुनु अगाडि भेटघाटलाई तीव्रता दिएका छन् ।

आउंदो २२ नोभेम्बरका दिन हुने मन्त्रीस्तरिय वार्तामा आफ्ना माग सम्बोधन गरियोस् भन्ने चाहन्छन् भूतपूर्व गोर्खाहरु । यसकारण अहिलेको समयमा उनीहरुले बेलायत र नेपालका प्रभावशाली राजनीतिज्ञ एवं व्यक्तित्वसंग छलफल शुरु गरेका हुन् ।

यसै क्रममा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति आवद्ध भूतपूर्व गोर्खाहरुले गोर्खा समुदायसंग निकट बेलायती सांसद वीरेन्द्र शर्मासंग भेट गरेर आफ्ना माग पुरा गराउन संसदमा दवावका लागि आग्रह गरेका छन् ।

सत्याग्रहका अभियान निर्देशक ज्ञानराज राईको नेतृत्वमा गोर्खाहरुले सांसद शर्मासंग आफ्नो वास्तविकता सुनाए ।

शर्मा बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष पनि हुन् । गोर्खा समस्यासंग राम्ररी परिचित भएकाले पनि सांसद शर्माले सम्बन्धित निकायमा गोर्खा आवाज पुरयाइदिन सक्छन् ।

भेटघाटमा भूतपूर्व गोर्खा मध्यस्तकर्ता मेजर रि. जुदबहादुर गुरुङले सांसद शर्मालाई वार्ता सम्बन्धमा हालसम्मको प्रगति विवरण र गोर्खाहरुको ‘बटमलाइन’ बारे अपडेट गराएका थिए ।

प्रत्युत्तरमा सांसद शर्माले गोर्खाका माग सम्बन्धमा विगतमा पनि गम्भीर रुपमा संसद र सडकमा कुरा राखेको र अब पनि राख्ने आश्वासन दिएका थिए । सोलिसिटर राजु थापाको पहलमा भएको भेटघाटमा गोर्खाहरुलाई समान पेन्सन, वेलफेयर, गुडवील पेमेन्ट, अध्यागमन लगायत विषयमा गहन छलफल गरिएको थियो ।

यसैबीच, सत्याग्रहले मंगलबार नेपालका ख्यातिप्राप्त अभिनेता राजेश हमालसंग रेडिङमा एक अन्तरक्रिया गरेको छ । सो कार्यक्रममा गोर्खाहरुले आफ्ना गुनासा नेपाल सरकारलाई पनि प्रभावकारी ढंगले सुनाइदिन नायक हमालसंग अपिल गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू