शुक्रबार, वैशाख २१, २०८१
06:55 | ११:४०

बीसीसी गुम्बामा कालु रिन्पोछेले दिए धार्मिक प्रवचन

नेपाली लिङ्क सेप्टेम्बर १२, २०२३

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके अल्डरसटमा श्रद्धेय हिज इमिनेन्स क्याब्जे कालु रिन्पोछेले धार्मिक प्रवचन दिएका छन् । गत १० सेप्टेम्बर आइतबार रिन्पोछेले निगुमा (डाकिनी) साधनाको प्रवचन र शोधन योगा अभ्यास गराए । 

साथै, उनले उपस्थित भक्तजनहरुलाई दीर्घायू अभिषेक समेत प्रदान गरे । उनले अंग्रेजीमा दिएको प्रवचनलाई बीसीसी यूकेका खेन्पो फुर्तेम्बाले नेपालीमा अनुवाद गरेका थिए । 

भारतको दार्जिलिङ्गमा दोश्रो कालु रिन्पोछेका रुपमा जन्मिएका हिज इमिनेन्स गुरु निगुमा योगाका गुरु हुन् । उनले आफ्नो पूर्ववर्तीले सुरु गरेको मोनलाम शाङ्पाको परम्परा अर्थात ज्ञानलाई सिकाउन यूरोप, अमेरिका, एशियाका विभिन्न देशमा ध्यान केन्द्र स्थापना गरेका छन् । आफूसंग भएको सोही ज्ञान सिकाउने क्रममा बीसीसी यूके अल्डरसटमा उनी दोस्रो पटक आएका हुन् ।  

बौद्ध धर्ममा आस्थावान भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा बीसीसी यूकेको तर्फबाट अध्यक्ष हर्क बहादुर गुरुङ र बीसीसी यूके आमाहरुको तर्फबाट आमा प्रमुख उर्मिला गुरुङलगायत पदाधिकारी एवं सदस्यहरुले श्रद्धेय रिन्पोछेप्रति मण्डला अर्पण गरेका थिए ।

सो अवसरमा बीसीसी यूके अध्यक्ष गुरुङले रिन्पोछे गुरुको स्वागत गर्दै बीसीसी यूकेले हालसम्म गर्दै आएको धार्मिक, सामाजिक र परोपकारी कार्यबारे जानकारी दिए । उनले बीसीसी यूकेको आगामी परियोजनाबारे जानकारी गराउँदै सो परियोजनामा सहयोग गर्न भक्तजनहरुलाई अनुरोध गरे । 


बीसीसी यूकेका वरिष्ठ उपाध्यक्ष आङ दावा शेर्पाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बीसीसी यूकेका खेन्पो कर्म छुल्त्रिम, खेन्पो फुर्तेम्बालगायत धर्म गुरुहरुको विशेष उपस्थिति थियो । 

त्यस्तै, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष धर्म तामाङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, निवर्तमान आमा प्रमुख पुष्पा गुरुङलगायत कार्यसमितिका पदाधिकारी, आमाहरु, भक्तजनहरुको उपस्थिति थियो । 

कार्यक्रमको अन्त्यमा बीसीसी यूकेका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक शेर्पाले कार्यक्रम सफल बनाइदिएकोमा हिज इमिनेन्स कालु रिन्पोछेलगायत कार्यसमिति, आमाहरु, पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, भक्तजनहरुलगायत सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए । 

बीसीसी यूके अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष क्याप्टेन देब घलेले रिन्पोछेको छोटो परिचय दिएका थिए भने महासचिव मेजर हितमान गुरुङले औपचारिक कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू