शनिबार, साउन १२, २०८१
03:19 | ०८:०४

क्षेत्री समाज यूकेको वार्षिक भेटघाटमा राष्ट्रिय कलाकारहरुको जमघट

नेपाली लिङ्क सेप्टेम्बर ११, २०२३

लन्डन । क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम यही सेप्टेम्बर २३ तारिख शनिबार हुने भएको छ । अल्डरसटस्थित एम्पाएर हलमा बिहान १० देखि राति १० बजेसम्म हुने कार्यक्रममा नेपालबाट आएका विभिन्न राष्ट्रिय कलाकारहरुले सांगीतिक प्रस्तुति दिनेछन् ।

कार्यक्रममा राजु परियार, शिला आले, शोभा कार्की, सुदिप क्षेत्री, शिव हमाल, बन्दना पाण्डे, राजेश बर्देवाको सहभागिता रहनेछ । यसैगरी मिसेस नेपाल युनिभर्स बिमला बुढाथोकीले पनि प्रस्तुति गर्ने तय भएको छ ।

कार्यक्रममा थप मनोरन्जनको लागि विभिन्न आकर्षक पुरस्कारहरुसहित ‘राफल ड्र’ पनि व्यवस्था गरिएको छ ।

नेपाली कला संस्कृति, परम्परा र रीतिरिवाजलाई निरन्तरता दिंदै भावी पुस्तामाझ पनि आफ्ना मौलिकपन पुस्तान्तरण गर्ने उद्देश्यले क्षेत्री समाज बेलायतले हरेक वर्ष वार्षिक भेटघाट कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रमा मौलिक नेपाली प्रस्तुतिका साथै विभिन्न सांस्कृतिक कार्यक्रम गरिनेछ । बेलायतभर छरिएर रहेका क्षेत्री बन्धुहरुलाई एकत्रित गराउने उद्देश्यले गरिने उक्त कार्यक्रममा क्षेत्री मात्र नभएर विभिन्न जातजातिका सैयौं नेपालीहरुको जमघट हुने गर्दछ ।

‘यो कार्यक्रम क्षेत्रीहरुको मात्र नभएर सम्पूर्ण बेलायतबासी नेपालीहरुको हो, नेपालबाट आएका नेपाली कलाकारहरुलाई सहयोग तथा सम्मान गर्ने उद्देश्यले धेरैजना कलाकारहरुको जमघटसहित आयोजना गरिएको हुँदा सम्पूर्ण बेलायतवासीलाई सहभागी हुन आग्रह छ’-क्षेत्री समाज बेलायतकी अध्यक्ष श्रद्धा थापाले भनिन् ।

स्थापनाकालदेखि नै क्षेत्री समाज बेलायतले विभिन्न सामाजिक गतिविधि र नेपालमा आइपर्ने दैवी प्रकोपलगायत थुप्रै सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

सामाजिक परम्परा र संस्कारलाई निरन्तरता दिंदै  विभिन्न सास्कृतिक र सामाजिक गतिविधिहरुसहितको उक्त कार्यक्रममा सहभागी हुन कार्यक्रम संयोजक टेक बहादुर जीसीले आग्रह गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू