शनिबार, साउन १२, २०८१
02:49 | ०७:३४

केन्ट ग्रेभसेन्डमा नेपाली महिलाले मनाए तीज

नेपाली लिङ्क सेप्टेम्बर ५, २०२३

लन्डन । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको पूर्व सन्ध्यामा बेलायतमा विभिन्न कार्यक्रम शुरु भएका छन् ।

यसै क्रममा एभरेष्ट नेपलिज कम्युनिटी ग्रेभसेन्ड केन्टले पनि धुमधामसंग एक तीज कार्यक्रम गरेको छ ।

गत ३ सेप्टेम्बर आइतबार स्थानीय केन्टस्थित ड्रिम डेज पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सयौं नेपाली महिलाले हर्षोल्लाससहित तीज मनाए ।

उक्त सांस्कृतिक कार्यक्रममा कन्जरभेटिभ सांसद आदम होलोवे प्रमृख अतिथीका रुपमा सहभागी थिए ।

संस्थाका संस्थापक तथा वर्तमान अध्यक्ष इन्जिनियर राजेन्द्र खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सांसद होलोवेले नेपाल कला संस्कृतिमा निकै धनी भएको उल्लेख गर्दै तीजको शुभकामना दिए ।

उनले आफ्नो क्षेत्रमा नेपालीको आगमन उत्साहप्रद भएको पनि धारणा राखे । संस्थाकी पूर्व अध्यक्ष श्रीमति अनुपमा केसी लगायतले पनि तीजको अग्रीम शुभकामना दिए ।

कार्यक्रममा कम्युनिटीकी सदस्य श्रीमति पुनम प्रधान तथा १२ वर्षीया किशोरी आर्या पौडेलले तीजको महत्वमाथि प्रकाश पारेका थिए ।

सन् २०१७ मा स्थापना भएको यस संस्थाले स्थापनाकालदेखि नै हरेक वर्ष तीज पार्टी, देउसी भैलो तथा नेपाली नयां वर्ष शुभकामना सांझ गर्दै आएको छ ।

संस्थाकी सदस्यद्वय श्रीमति निशु शर्मा पौडेल तथा श्रीमति अमृता पौडेलले मौलिक तीज नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सांस्कृतिक 
संयोजन सदस्य प्रतीक भुषालले गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथी सांसद होलोवे तथा ज्येष्ठ बुवा आमाहरुलाई सम्मान गरिएको थियो ।
संस्थाका सक्रिय सदस्य मित्र पौडेलले नयां पिंढीलाई नेपाली चाडपर्व र कला संस्कृतिबारे अवगत गराउन पनि यस्ता खालका कार्यक्रममा जोड दिइएको बताए ।

ग्रेभसेन्ड क्षेत्रमा अहिले झण्डै ६२ नेपाली घरपरिवार छन् ।

महादेवको पूजाआराधना गरी मनाइने तीज नेपाल मात्र नभइ संसारभर रहेका हिन्दू नेपाली महिलाहरूले मनाउने गर्छन्। तीजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू