शनिबार, साउन १२, २०८१
05:44 | १०:२९

लण्डनमा भोलि हुने नेपाली मेला स्थलमा यस्तो देखियो तयारी (फोटोफिचर)

नेपाली लिङ्क अगस्ट २६, २०२३


लन्डन । लण्डनमा भोलि आइतबार हुन गइरहेको १४औं नेपाली मेलाको तयारी तीव्र भइरहेको छ । 

नेपाली मेला तयारीका लागि आज बिहानदेखि नै आयोजक टोलीहरु कार्यक्रमस्थलमा निरन्तर खटिएको मिडिया सेक्रेटरी एसके गुरुङले जानकारी दिए । तमुधिं यूके अध्यक्षलगायत संस्थाका अन्य सदस्य र स्वयंसेवीहरु तयारीमा खटिएका छन् ।

तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा मेला गर्न लागेको हो  । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित लन्डनस्थित केम्प्टन पार्क रेसकोर्सको खुल्ला मैदानमा हुने यसपटकको नेपाली मेलामा कम्तिमा पाँच हजार जनाको सहभागिता रहने आयोजकले बताएका छन् ।

बेलायतस्थित नेपाली संघसंस्थाबीचको सम्बन्ध प्रगाढ बनाउन, आपसमा कला संस्कृतिको परिचय र युवा पुस्तामा नेपाली भाषा एवं कला संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले सन् २००९ देखि सुरु गरिएको हो । नेपाली मेलामा यसपटक विभिन्न देशका कूटनीतिज्ञ, मेयर, काउन्सिलर, कृत्रिम खुट्टाको सहारामा सगरमाथा चढ्ने विश्वकै एकमात्र आरोही हरि बुढामगर, सगरमाथा आरोही नायिका दिया पुन लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहनेछ ।


बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा हुने उक्त मेलामा परम्परागत झाँकी, नृत्यलगायतका सांस्कृतिक प्रस्तुति साथै नेपालबाट आएका नेपाली कलाकारहरुले पनि सांगीतिक मनोरन्जन प्रस्तुत गर्नेछन् ।

नेपाली व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामाग्री जस्ता  विभिन्न नेपाली उत्पादनसहितको करिब तीन दर्जन भन्दा बढी विक्री स्टलहरु राखिनेछन् ।

मेलामा सहभागी झाँकीहरुलाई प्रोत्साहनस्वरूप पुरस्कारको समेत व्यवस्था गरिएको छ । उत्कृष्ट झांकी प्रदर्शन गर्ने पहिलो समूहलाई ५ सय, दोश्रोलाई तीनसय र तृतीय हुनेलाई २०० पाउण्ड दिइनेछ भने सान्त्वना पुरस्कार स्वरुप तीन समूहलाई २०० पाउण्डका दरले पुरस्कृत गरिनेछ 

झांकी र सांस्कृतिक नृत्यमा उत्कृष्ट हुने पहिलो टिमलाई ११०० पाउण्ड नगदसहित एम्बासडर कप तथा तीनसय पाउण्डसहित एनआरएनए कप र ट्रफी, रनरअपलाई ७०० पाउण्ड एवं तृतीय हुने टिमलाई ५०० पाउण्ड प्रदान गरिनेछ ।

फोटो:तमुधिं यूके फेसबुक पेज 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू