शनिबार, साउन १२, २०८१
07:08 | ११:५३

दूतावास पुगे ज्ञानेन्द्र, खेलाडीलाई अवसरको खोजी गर्न राजदूतसँग आग्रह

नेपाली लिङ्क अगस्ट ९, २०२३

लन्डन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लन्डनस्थित नेपाली दूतावास पुगेर राजदूत ज्ञानचन्द्र आचार्यलाई भेटेका छन् । 

बुधबार भएको भेटमा मल्लले बेलायतका नेपालीहरुले क्रिकेटमा देखाएको रुची र सक्रियताप्रति आफू सन्तुष्ट रहेको बताउंदै क्रिकेट खेललाई अझ प्रभावकारी र व्यवस्थित बनाउन दूतावासलाई विशेष पहल गर्न आग्रह गरे ।

बेलायतका विभिन्न काउन्टीमा आयोजना हुने गरेका क्रिकेट खेललाई एकै ठाउँमा ल्याउन सकेमा बेलायती नेपाली समुदायमा क्रिकेट खेलले फड्को मार्ने उनको धारणा थियो । नेपालमासमेत अन्डर १९ क्रिकेट खेलमा सहभागी भइसकेका राम्रा खेलाडीहरु बेलायतमा धेरैजना रहेकाले बेलायतमा क्रिकेटको बलियो सम्भावना देखेको मल्लले बताए ।

सम्भव भएसम्म नेपालबाट पनि खेलाडी ल्याएर खेलाउन  सके खेलको स्तर वृद्धिका साथै खेलाडीको पनि मनोबल बढ्न सक्ने धारणा राख्दै दूतावासले पनि सहयोग गर्नुपर्ने धारणा मल्लको थियो ।

राजदूत आचार्यले बेलायतमा लामो समयदेखि क्रिकेट खेल खेलिंदै आएको भएपनि पछिल्लो समयमा थप चासो बढेको बताउंदै आफू र दूतावासको तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिए । विभिन्न काउन्टीमा खेलिने खेललाई एकै ठाउँमा ल्याउन सके अझ प्रभावकारी हुने बताउंदै राजदूत आचार्यले सम्बन्धित क्षेत्रबाट पनि पहल हुन आवश्यक रहेको बताए ।

गोर्खा कम्युनिटीसमेत क्रिकेटमा संलग्न रहेको हुँदा ऐतिहासिक सम्बन्धलाई जोडेर क्रिकेटलाई अघि बढाउन थप प्रभावकारी हुने उनले बताए । राजदूतले क्रिकेट खेललाई दूतावासले पहिला पनि चासो दिंदै आएको तर कोभिड १९ का कारण अघि बढाउन नसकिएको बताउंदै भावी दिनमा दूतावासले सहयोग गर्ने बताए ।

कार्यक्रममा राजदूत आचार्यसहित द्वितीय सचिव रामबाबु नेपाल र मिलिट्री अटयाची रत्नबहादुर गोदार उपस्थित थिए ।

द्वितीय सचिव नेपालले नेपाली क्रिकेटप्रति आफ्नो सहानुभूति रहेको बताउंदै क्रिकेट खेललाई अघि बढाउन आफ्नो तर्फबाट पनि पहल गर्ने बताए । यहाँका स्थानीय क्रिकेटरसंग भेट्दा पनि आफूले चासो दिंदै आएको र दूतावासको तर्फबाट आवश्यक पर्ने सहयोगको लागि तत्पर रहेको उनले बताए ।

क्रिकेटर तथा व्यवसायी राज पाण्डेले नेपाली क्रिकेट खेलाडीलाई सहयोग गर्न आफ्नो कम्पनीले आर्थिक रुपमा समेत सहयोग गर्दै आएको र भावी दिनमा पनि निरन्तरता दिने बताए । बेलायतमा रहेका खेलाडीलाई मात्र नभई नेपालका खेलाडीलाई पनि यहाँ ल्याएर उनीहरुको आत्मबल बढाउन भावी योजनाको तयारीबारे पनि उनले सुनाए ।

हालै भएको दोस्रो ब्रिटिश नेप्लिज प्रिमियर लिग क्रिकेटका मार्केटिङ डाइरेक्टर अभिषेक भट्टराईले क्रिकेट खेललाई बेलायतका टिममा मात्र सिमित नराखी युरोपसम्म लैजाने प्रयासमा आफूहरु रहेको र यसपटक समय अभावका कारण सम्भव नभएको बताए ।

दूतावासमा भएको भेटघाट कार्यक्रममा पूर्व कप्तान मल्लसहित  स्थानीय क्रिकेटरहरु प्रकाश गुरुङ, राज पाण्डे, विधान गिरी, गाम गुरुङ, सोम मगर, अभिषेक भट्टराई, बेलायत भ्रमणमा रहेका मनमोहन टेक्निकल युनिभर्सिटीका कार्यकारी परिषद सदस्य तथा उधोगी मुकेश उपाध्याय र नेपाल पत्रकार महासंघ बेलायतका महासचिव नरेन्द्र बस्नेतको सहभागिता थियो ।

उक्त भेटघाट संयोजन अन्तरराष्ट्रिय धादिङ समाजका अध्यक्ष एवम् क्रिकेट शुभचिन्तक राजन खकुरालले गरेका थिए ।

अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिए लगत्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान मल्ल लन्डन उडेका थिए  । भोलिपल्ट लन्डन आएपछि उनी भेटघाटमा व्यस्त रहे । आइतबार उनी नेपाली समुदायद्वारा आयोजना गरिएको ब्रिटिश नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगितामा विशेष अतिथीका रुपमा सहभागी भए ।

गत सोमबार बेलायतको मिडल्यान्डमा वर्षेनी हुँदै आएको मिडल्यान्ड नेप्लिज क्रिकेट लिगको प्रमुख अतिथिको रुपमा  सहभागी भए । क्रिकेट खेललाई बेलायती नेपालीलगायत विदेशी टिममा समेत सहभागी गराउने लक्ष्यसहित उनले विभिन्न पहल गर्दै आएको बताए । 

क्रिकेट खेल देशकै सम्पति भएकाले यसलाई अघि बढाउन सके खेलाडीको मात्र हैन देशकै इज्जत बढ्ने उनको धारणा थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू