शनिबार, साउन १२, २०८१
06:47 | ११:३२

आदिवासी पुरुष र महिलालाई सम्मान गरिने

नेपाली लिङ्क अगस्ट ७, २०२३

लन्डन– नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूके लगायत आदिवासी संगठनहरूले विश्व आदिवासी दिवस मनाउने भएका छन् ।

आइतबार भर्चुअल पत्रकार सम्मेलन गरि नेपाल आदिवासी जनजाति महासंघ यूके, नेपाल आदिवासी जनजाति महिला महासंघ यूके, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूके, नेपाल आदिवासी जनजाति युवा महासंघ यूके, नेपाल आदिवासी जनजाति लेखक तथा साहित्य महासंघ यूकेको संयुक्त आयोजनामा १३ अगस्ट २०२३ का दिन विविध कार्यक्रमसहित २९ औं विश्व आदिवासी दिवस मनाउन लागिएको जनाइएको हो ।

‘विश्वका आदिवासी जनजाति एक होऔं, आफ्नो भेषभूषा, लिपी, कला संस्कृतिको संरक्षण र संवर्धन गरौं, ‘पहिचान र अधिकार सुनिश्चितताका लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान, सीपको प्रवर्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौँ’ भन्ने नाराकासाथ विश्व आदिवासी दिवस मनाउने तयारी छ ।

कार्यक्रममा सल्लाहकारहरू, एकेन्द्र गुरुङ, भक्त दुरा, ज्ञाम गुरुङ, डा.सुमाया राई, सिरी लिम्बु, फोनिज यूके अध्यक्ष गोमा राना, आदिवासी जनजाति साहित्यकार-लेखक महासंघ यूके संयोजक अमित थेवेलगायतको उपस्थिति थियो । फोनिज यूके अध्यक्ष राना मगरले प्रेस नोट वाचन गरेकी थिइन्।

कार्यक्रममा पहिलोपटक स्थापना गरिएको आदिवासी वर्ष पुरुष र आदिवासी वर्ष महिला गरि दुईजनालाई विशेष सम्मान गरिने भएको छ। यसका साथै कलाकार तथा अन्य विशिष्ट योगदान पुरयाउने व्यक्तित्वलाईसमेत सम्मान गरिने कार्यक्रम रहेको नेपाल आदिवासी जनजाति महासंघ यूके अध्यक्ष कमान सिंह (कर्मा पहाडी) शेर्पाले जानकारी दिए ।

अल्डरसटस्थित एम्पाएर हलमा सम्पन्न हुन गइरहेको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख श्रीमति रोशन खनाललगायत नेफिनका केन्द्रिय पूर्व महासचिव तथा नेफिन यूके सल्लाहकार भक्त बहादुर दुरा प्रमुख वक्ता रहनेछन् ।

कार्यक्रममा जातीय तथा सांस्कृतिक परम्परा झल्किने झांकीहरु, नृत्य तथा गीतहरु प्रस्तुत गरिने छ । यसपटकको कार्यक्रम पनि आदिवासीकै हक अधिकारमाथि चर्चा गरिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू