बिहीबार, वैशाख ६, २०८१
15:22 | २०:०७

रविले चितवनमा शुरु गरे महिलाका लागि निशुल्क बस सेवा

रासस अगस्ट २, २०२३

पार्टीको झण्डामा प्रयोग भएको रङ्ग निलो बस भएकाले बसलाई ‘ब्लु बस’ भनिएको छ । तस्बिर रासस

चितवन, १७ साउन–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन् । उनले आज एक कार्यक्रमबीच निर्वाचन क्षेत्र विशेष कार्यक्रम घोषणा गरेका हुन् ।

घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा आजैबाट निःशुल्क सञ्चालन गर्ने उल्लेख गरेका छन् । पार्टीको झण्डामा प्रयोग भएको रङ्ग निलो बस भएकाले बसलाई ‘ब्लु बस’ भनिएको छ ।

बसमा महिला मात्र सवार गर्न सक्नेछन् । बस चितवन क्षेत्र नं २ का सहरी क्षेत्रमा सञ्चालनमा आउने छ । बस चढ्नेहरुका लागि कार्ड वितरण गरिने छ । बसभित्र महिलाका लागि अत्यावश्यक सामग्रीसँगै सांसद लामिछानेलाई चिठ्ठी राख्ने ठाउँको व्यवस्था हुने छ ।

लामिछानेले निर्वाचनको समयमा घोषणा गर्नुभएको विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारीको घोषणा गरेका छन् । उनीहरुलाई मासिक रु ४० हजारदेखि रु एक लाख ५० हजारसम्मको तलब व्यवस्था हुनेछ ।

लामिछानेले हरेक चार–चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने भन्दै पहिलो कार्यक्रम आगामी भदौ १० गतेका लागि घोषणा गरेका छन् । ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ ।

त्यसमा मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीको समूहले घरमा नै पुगेर सेवा दिनेछ । थप उपचार आवश्यक परेमा परामर्श गरी अस्पताल पठाउने व्यवस्था मिलाइने भएको छ ।

उनले स्वास्थ्य चितवन अभियानअन्तर्गत आफ्नो क्षेत्रका विपन्न नागरिकलाई रु पाँच लाख बराबरको स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिने बताए । पहिलो चरणमा एक सय जनालाई समावेश गरिने छ ।

लामिछानेले पहिलो चरणमा दुई विद्यालयका कक्षा ११ र १२ लाई नमुना विद्यालयका रुपमा विकास गर्ने बताएका छन् । भरतपुर महानगरपालिकाको रामनगर मावि र कालिका नगरपालिकाको चतुर्मुखी माध्यामिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई पहिलो चरणमा उत्कृष्ठ शिक्षा दिएर ती दुई विद्यालय नमुना बनाइने छ । यससँगै अन्य कक्षा र अरु विद्यालय नमुना बनाउँदै लगिने छ । उनले इच्छाकामनाको भाराङ्को आधारभूत विद्यालयलाई नमुना शैक्षिक संस्थाका रुपमा विकास गरी आवासीय विद्यालय बनाउन सुरु गरिएको जानकारी दिए ।

कार्यक्रम घोषणाका क्रममा नारायणगढ–मुग्लिन सडकमा वर्षातको समयमा यात्रुले दुःख पाउने गरेको भन्दै उनले २० जनाको स्वयंसेवी समूह (आरएटी) परिचालन गरिने बताए । वर्षातको समयमा मात्र यो रयापिड एक्सन टिम परिचालन हुने छ ।

उनकै कार्यक्रममा आफूले प्राप्त गरेको मत ५४ हजार एक सय ७४ बराबर फलफूल र अन्यका बिरुवा निर्वाचन क्षेत्रमा रोपिने जनाइएको छ । मतदाताको सम्मानमा ‘एक मत एक बिरुवा’ रोप्न लागिएको हो । कार्यक्रमका लागि आवश्यक बजेट जुटाउन चितवन क्लब गठन गरिने छ ।

क्लबमा विदेशमा रहेका चितवनवासीलाई समावेश गरेर आर्थिक सहयोग जुटाइने उनले बताए । लामिछानेले आजै भरतपुरको बसेनीमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । कार्यालयमा प्रमुख कार्यकारी अधिकृतका रुपमा हेमन्त बराललाई नियुक्त गरिएको छ । कार्यालयको लामिछानेसहित पार्टीका नेताले घण्टी बजाएर उद्घाटन गरेका थिए ।

लामिछाने पहिलोपटक निर्वाचित भएपछि नागरिकताको विवादका कारण सर्वोच्चको फैसलासँगै पद रिक्त भएको थियो । उपनिर्वाचन भएर दोस्रो पटक निर्वाचित भएको आज एक सय दिन पुगेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू