शनिबार, साउन १२, २०८१
03:22 | ०८:०७

संस्थाको कोष खर्च नगर्दा उल्टै आलोचना !

नेपाली लिङ्क अगस्ट २, २०२३

काशिराम भण्डारी, अध्यक्ष (सन् २०२१-२०२३), एनआरएनए स्कटल्यान्ड

लन्डन। एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदका निवर्तमान अध्यक्ष काशिराम भण्डारीले आफ्नो कार्यभार हस्तान्तरण गरेका छन् ।  

जुलाई २२ मा सम्पन्न निर्वाचनबाट निर्वाचित अध्यक्ष दिवाकर पाण्डेले शपथ लिएकै दिन निवर्तमान समितिका तर्फबाट नयाँ समितिलाई बुझबुझारथ गरिएको हो। 

पछिल्लो दुई वर्ष एनआरएनए स्कटल्यान्ड हांकेका समाजसेवी एवम् सफल व्यवसायी भण्डारी बिदा हुँदै गर्दा एनआरएनए स्कटल्यान्ड वृत्तमा गतिलो प्रशंसा बटुले। आफ्नो कार्यकालमा संस्थालाई सक्रिय बनाएर साख उचो पार्ने गरी काम गरेकोमा उनले स्याबासी पनि पाए।  

तर, प्रशंसा र स्याबासीबीच केहीले भने भण्डारीको आलोचना पनि गरे । बुझबुझारथ कार्यक्रममा सहभागी केही सदस्यहरुले अध्यक्ष भण्डारीले कतिपय कार्यमा संस्थाको कोष प्रयोग नगरी आफ्नो व्यक्तिगत खर्च गरेको भन्दै आलोचना गरेको उनले सुनाए।

‘मैले त संस्थाको कोष सकेसम्म जोगाउने कोशिश् गरें। कतिपय कार्यमा आफ्नो खल्तीबाटै खर्च गरेर संस्थाको जोगाएँ’, उनले भने, ‘अहिले साथीहरुले संस्थाको पैसा खर्च नगरेर किन आफ्नै गरेको भनेर आलोचना गर्नुभयो।’ 

आलोचना नै व्यहोरेपनि संस्थाको कोष जोगाएकोमा भने आफूलाई गौरव लागेको भण्डारीले बताए। उनले भने, ‘अरु संस्थामा किन बढी खर्च गरेको भनेर आलोचना हुने गरेको देखिएको थियो । हाम्रोमा किन कम खर्च गरेको आलोचना भयो । मलाई कुनै दु:ख छैन, खुशी नै लागेको छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू