शनिबार, साउन १२, २०८१
12:11 | १६:५६

धादिङ नुवाकोट समाज यूकेको १६ औं वार्षिक भेला भव्य

नेपाली लिङ्क जुलाइ ३०, २०२३

लन्डन । धादिङ नुवाकोट समाज यूकेको १६ औं वार्षिक भेला भव्य भएको छ । बेलायतमा बसोबास गर्दै आएका धादिङ र नुवाकोटवासी नेपालीहरुको संस्था धादिङ नुवाकोट समाज यूकेले शनिबार फुटबल प्रतियोगितासहित समर भेटघाट कार्यक्रम गरेको हो ।

लन्डन फेल्थमस्थित कम्युनिटी कलेज हलमा सांस्कृतिक कार्यक्रमसहित भएको जमघटमा झण्डै ४ सय जना सहभागी थिए ।

समाजका अध्यक्ष धनबहादुर तामाङ (पाख्रिन) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमममा पूर्व मेयर तथा काउन्सिलर विष्णुबहादुर गुरुङ प्रमुख अतिथी थिए । प्रमुख अतिथी गुरुङ र अध्यक्ष तामाङले संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए । दुवै देशको राष्ट्रियगानसहित सुरु गरिएको कार्यक्रममा कल्चरल सेक्रेटरी कृष्ण पाख्रिनले राष्ट्रिय भावको गीत गएर मनोरन्जन दिलाएका थिए ।

कार्यक्रममा उच्चशिक्षा हासिल गरेका विद्यार्थी, समाजका आजीवन सदस्यहरु, नेपालबाट आएका राष्ट्रिय कलाकार तथा विजेता फुटबल खेलाडीलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रमुख अतिथी विष्णु गुरुङले पनि समाजको सदस्यता लिएका थिए । सुरुमा आसन, भाषण र सम्मानपछि दोश्रो चरणमा राष्ट्रिय कलाकारहरु बिन्दा परियार र मनमाया वाइबाको सांगीतिक प्रस्तुति एवं छुल्ठीम डोल्मा गुरुङको नृत्यमा सहभागी मज्जाले झुमे ।

विगत १६ वर्षदेखि हरेक वर्ष आयोजना हुँदै आएको उक्त कार्यक्रममा यसपटक नेपालबाट आएका लोकदोहोरी गायिका मनमाया वाइवा, अभिनेत्री छुल्ठीम डोल्मा गुरुङ, बिन्दा परियारलगायत स्थानीय कलाकारहरुले जोडदार प्रस्तुति दिएका थिए ।

इन्द्रेणी कार्यक्रममार्फत लोकप्रिय बनेकी मनमाया रेसुंगा दोहोरीकी संचालक हुन् । छुल्ठीम फिल्म निर्मात्री पनि हुन् । यस्तै बिन्दा काठमाडौं ठमेलमा गामबेसी दोहोरी साँझमा कार्यरत छिन्।

प्रमुख अतिथी विष्णु गुरुङले धादिङ नुवाकोट समाजलाई कार्यक्रमको सफलता र निरन्तरताको शुभकामना दिएका थिए । काउन्सिलबाट प्राप्त गर्न सकिने विभिन्न किसिमका सुविधाका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

अध्यक्ष धनबहादुर तामाङले कार्यक्रमका सहभागी, प्रायोजक, कलाकार, खेलाडी लगायत कार्यक्रम सफल पार्न सहयोग गर्ने कार्यसमितिसहित सबैलाई धन्यवाद दिएका थिए ।
समाजका महासचिव बुद्धिबहादुर तामाङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा उपाध्यक्ष मोतिमान बज्राचार्यले स्वागत मन्तव्य र पूर्व अध्यक्ष एवम् सल्लाहकार तुलबहादुर तामाङले हेल्थ एण्ड सेफ्टी बारेमा जानकारी गराएका थिए ।

यसअघि बिहान समाजकै आयोजनामा तेश्रो धादिङ नुवाकोट कप सम्पन्न भएको थियो जुन कप स्वीन्डन स्टारले जितेको छ । फेल्थम कम्युनिटी कलेज मैदानमा आयोजित प्रतियोगितामा प्रथम भएर स्वीन्डन स्टारले गोल्ड मेडलसहित प्रमाणपत्र जित्यो भने फेल्थम फाइटर रनर अप भयो । उसले सिल्भर मेडलसहित प्रमाणपत्र प्राप्त गरेको छ ।
भेट्रान खेलाडीसहित ६ टिम सहभागी उक्त प्रतियोगितामा धनगरचोक टाइगर्स तृतीय भइ ब्रोन्ज मेडल र प्रमाणपत्र प्राप्त गरयो ।

विजेता टिमलाई धादिङ नुवाकोट समाज यूके अध्यक्ष धनबहादुर तामाङले मेडल र प्रमाणपत्र प्रदान गर्दै बधाइ दिएका थिए । युवालाई प्रोत्साहन र अग्रजलाई सम्मान गर्ने लक्ष्यसहित फुटबल प्रतियोगिता शुरु गरिएको अध्यक्ष तामाङले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू