शनिबार, साउन १२, २०८१
06:42 | ११:२७

एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष अनिल मल्ललाई

नेपाली लिङ्क जुलाइ २७, २०२३

लन्डन । एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष अनिल मल्लले पाएका छन् । 

अध्यक्ष प्रेम गाहामगर गत २६ जुलाईदेखि तीन साताका लागि नेपाल भ्रमणमा रहेकाले मल्ललाई उक्त जिम्मेवारी दिने निर्णय २५ जुलाईको कार्यसमिति बैठकले गरेको थियो । 

वर्तमान कार्यसमितिका उपाध्यक्ष मल्ल च्यारिटी विभागको संयोजक समेत छन् । उनी अध्यक्ष गाहामगरको विश्वासपात्र मानिन्छन् । 

अघिल्लो कार्यसमितिमा धेरैले साथ छाडे पनि मल्लले आफ्नो धर्म र इमान्दारी कहिल्यै छाडेनन् । कार्यसमितिका हरेक गतिविधि र यसपटक संघको २० हजार ७०७ सदस्य बनाउन पनि मल्लको प्रमुख भूमिका थियो । 

युवा व्यवसायी मल्लले यसअघि एनआरएनए यूकेको युवा संयोजकमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए । 

तीन साता नेपाल रहंदा अध्यक्ष प्रेम गाहामगरले नेपाल सरकार परराष्ट्र मन्त्रालयमा २० हजार ७०७ सदस्यतासहित आफ्नो कार्यसमिति आधिकारिक भएको दावी पेश गर्ने र वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई जोडका साथ उठाउने भएका छन् । 

उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, कानूनमन्त्रीलगायत उच्च पदस्थ पदाधिकारी र राजनीतिक शीर्षस्थ नेतृत्वलाई भेट गरेर ज्ञापन पत्र समेत बुझाउने तयारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू