सोमबार, वैशाख १७, २०८१
10:21 | १५:०६

चार्ल्टन समाजको कार्यक्रममा राजु र शिलाको लोकदोहोरीमा झुमे दर्शक

नेपाली लिङ्क जुलाइ २५, २०२३

लन्डन। साउथ इष्ट लन्डनस्थित चार्ल्टन नेपाली समाज यूकेको वार्षिक समर कार्यक्रम आइतबार सम्पन्न भयो।  

स्थानीय मेरिडियन स्पोर्टस् क्लबको मैदानमा विविध मनोरञ्जनात्मक प्रस्तुतिहरुसहित कार्यक्रम सम्पन्न भएको हो।  

लोकप्रिय लोकदोहोरी गायक राजु परियार र गायिका शिला आलेको प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षण थियो। उनीहरुको एकल तथा दोहोरी प्रस्तुतिमा रमाउँदै  कार्यक्रममा सहभागी सयौं दर्शक धेरैबेर नाचेका थिए।

सो अवसरमा स्थानीय कलाकारहरु क्षितिज अर्याल, तृप्‍ति अर्याल, एलिशा न्यौपाने र नेहा खरेललगायतले सुन्दर नाच देखाएका थिए। डिजे हेम विष्टले पनि विभिन्न गीतहरु बजाएर दर्शक नचाएका थिए।

यसअघि समाजकी अध्यक्ष रेखा खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष रोमनाथ पाण्डे, पशुपतिनाथ मन्दिर प्लमस्टिडका अध्यक्ष दासुराम पाण्डेलगायतले शुभकामना मन्तव्य दिएका थिए। उपाध्यक्ष सीता अर्यालले स्वागत मन्तव्य दिएकी थिइन् भने महासचिव टिएन रिजालले कार्यक्रम सञ्चालन गरेका थिए।

आफ्नो मन्तव्यमा अध्यक्ष खरेलले संस्थाप्रतिको चासो एवम् सहभागिता बढाउन सल्लाहकार एवम् सदस्यहरुलाई आव्हान गरेकी थिइन्।

समाजका उपाध्यक्ष प्रकाश कंडेलले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै कलाकार, अतिथि एवम् सहभागीप्रति संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा स्थानीय ग्रीनवीच बरोका उपमेयर जीत रानाभाट, एनआरएनए यूके पूर्व अध्यक्ष महेन्द्र कंडेल, समाजका संस्थापक अध्यक्ष सुरज केसी, पूर्व अध्यक्षहरु टंक कंडेल र कृष्ण खरेल, पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, चर्चित युट्युबर मोहन बस्नेतसहित समाजका सल्लाहकारहरु, विभिन्न संस्थाका प्रतिनिधि एवम् समुदायका अगुवाहरुको पनि उल्लेख्य उपस्थिति थियो। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू