शनिबार, साउन १२, २०८१
06:50 | ११:३५

बीसीसी गुम्बामा छ्योखोर दुचेन पूजा

नेपाली लिङ्क जुलाइ २४, २०२३

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बुद्धका चार मुख्य तिथी मध्येको एक धर्म चक्र (छ्योखोर दुचेन अर्थात् ठुक्पा छेश्यी) को अवसरमा विशेष पूजा आयोजना गरेको छ ।

गत २१ जुलाई शुक्रबार विविध कार्यक्रमका साथ बीसीसी यूकेको अल्डरसटस्थित गुम्बामा पूजा गरिएको हो ।

काठमाण्डौं, बौद्धस्थित सेचन गुम्बाका लामा लुङ्रिग रिन्पोछेको विशेष उपस्थितिमा सम्पन्न पूजामा बीसीसी यूकेका टुल्कु जिग्मे सामतेन, खेन्पो फुतेम्बा लगायत धर्म गुरुहरुले पूजापाठ गरेका थिए ।

सो अवसरमा लामा लुङ्रिग रिन्पोछेले बुद्धको चार आर्य सत्य (फोर नोवल ट्रुद), धर्म चक्र प्रवद्र्धन बारे प्रवचन दिए ।

उक्त प्रवचनलाई खेन्पो फुतेम्बाले नेपालीमा अनुवाद गरेका थिए । त्यस्तै, लामा लुङ्रिगलगायत धर्मगुरुहरुले धनचक्र (छोक) पूजा, दिपप्रज्वलन (मर्मे) पाठ, आयु वृद्धि हुने सिद्धि, प्राणिधान (मलम) पाठलगायत पूजाहरु गरेका थिए ।

कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले गुरुहरुलाई मण्डला अर्पण गरेका थिए ।

बीसीसी यूकेका उपाध्यक्ष आङ्गदावा शेर्पाको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा महासचिव मेजर हितमान गुरुङले कार्यक्रमका लागि भोजनदान गर्ने दाताहरुको नामावली सुनाउंदै धन्यवाद प्रकट गरेका थिए ।

दीप प्रज्ज्वलन र धर्म चक्र (छ्योखोर) नृत्य समेत गरिएको पूजामा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

विशेषगरी शेर्पा एशोसिएसन यूकेका अध्यक्षलगायत पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा बीसीसी यूकेका पूर्व अध्यक्ष ले. नारायणप्रसाद गुरुङ ‘बीइएम’, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, आमा अध्यक्ष उर्मिला गुरुङ, आमा सचिव शारदा गुरुङ, बीसीसी यूके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ लगायत बीसीसी यूकेका कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा समूहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति थियो ।

बीसीसी यूकेका अध्यक्ष हर्क गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष आङ्गदावा शेर्पाले स्वागत मन्तब्य राखेका थिए भने महासचिव मेजर हितमान गुरुङले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू