शनिबार, साउन १२, २०८१
06:17 | ११:०२

ग्रीनवीचकप भोलि शनिबार, खेलकुदका साथमा सांगीतिक मनोरञ्जनको प्याकेज

नेपाली लिङ्क जुलाइ २१, २०२३

लन्डन- साउथ इष्ट लन्डनमा वर्षेनी एक महोत्सवका रुपमा आयोजना हुँदै आएको ग्रीनवीचकप भोलि शनिबार आयोजना हुँदैछ। 

नेपाली युथ एशोसिएसनको आयोजनामा चार्ल्टन पार्कको मैदानमा सञ्चालन हुने ग्रीनवीचकप तथा महोत्सवको एघारौं संस्करण भव्य बनाउने गरी लगभग सम्पूर्ण तयारी पूरा भएको संयोजक राजन खकुरालले जनाए।

एशोसिएसन अध्यक्ष लछुमन गुरुङका अनुसार कार्यक्रमलाई मेलाकै रुपमा व्यापक र मनोरञ्जनात्मक बनाउन कोशिश गरिएको छ ।

बिहान ९ देखि साँझ ६ बजेसम्म्म चल्ने महोत्सवमा प्रवेश निशुल्क छ।

ग्रीनवीच कपको प्रमुख आकर्षण ग्रीनवीच कप फुटबल प्रतियोगिता हो जसमा खुलातर्फ बेलायतभरका जम्मा १३ टीमबीच प्रतिस्पर्धा हुनेछ भने ६ भेट्रान टीमबीच पनि मैत्रीपूर्ण प्रतिस्पर्धा गराइनेछ। साथै, मैत्रीपूर्ण भलिबल पनि खेलाइनेछ।

लाइभ सांगीतिक प्रस्तुति पनि महोत्सवको अर्को आकर्षक पक्ष छ। गायक दिपक थापा, नेपालबाट आएका लोकदोहोरी कलाकारहरु  रिना केसी, बिना परियारको साथमा स्थानीय आर्केन ब्यान्ड लगायतले लाइभ प्रस्तुति गर्नेछन्।

बालबालिकाहरुको मनोरञ्जनको लागि एग रेसिङ, पास द बल प्रतियोगता राखी आकर्षक पुरस्कार पनि राखिएको छ। जसमा ग्रीनवीच मम्मी फोरमले संयोजनकारी भूमिका खेल्ने छ।  साथै कोरियोग्रफर दिलु थापाको संयोजनमा कम्युनिटी कल्चरल शो पनि हुने आयोजकले बताएको छ।

११ औं ग्रीनवीच कपको अर्को आकर्षण ‘राफल ड्र’ रहेको छ। प्रथम पुरस्कार हाईब्रिड बाईक छ भने दोस्रो र तेस्रोलाई पनि आकर्षक पुरस्कार रहनेछ।

महोत्सवस्थलमा नेपाली खानासहित व्यापारिक र च्यारिटी स्टलहरु समेत रहनेछन्। महोत्सवको मुख्य स्पोन्सर साउथ इष्ट रिजनल तमुधिं छ । त्यस्तै, गोल्ड स्पोन्सरमा नेपाली साइक्लिन क्लब यूके, क्यानन सेकुरिटी, आर्क स्टोन म्यानेजमेन्ट, सिल्भर स्पोन्सरमा फरवार्ड एकेडेमी, होम इनस्टेड, ट्याक्स प्लेटफर्म, पिपल मोर्गेज, वाटर्मिलन मोर्गेज, मनकामना स्टोर, टीजी फाइनान्स, अर्बान याक, एभरेष्ट इन, एभरेष्ट स्टोर र डाइमन्ड वुद्धिष्ट सेन्टर रहेका छन् ।

ग्रीनवीच कपको संयोजक राजन खकुराल छन् भने सहसंयोजक देवेन श्रेष्ठ हुन्। युथ फुटबलतर्फ विशाल गुरुङले संयोजन गर्दै छन् भने भेट्रानतर्फ अध्यक्ष लछुमन गुरुङले संयोजन गर्दैछन्। नर्सिङ एशोसियसन यूकेकी अध्यक्ष सुनिता गौतम थापाको नेतृत्वमा स्वास्थ्यजांच गरिंदैछ भने सांगीतिक मनोरञ्जनतर्फ अमरदिप थापा, अविनाश श्रेष्ठ, सौरभ थापा, सिमन्त पुनले संयोजनकारी भूमिका खेल्दैछन्।

कार्यक्रम सञ्चालन अंकिता ढकाल र भाविका लोप्चनले गर्नेछन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू