शनिबार, साउन १२, २०८१
06:12 | १०:५७

बेलायतमा नेपालबाट नर्स ल्याउन आवेदन खुला

नेपाली लिङ्क जुलाइ २०, २०२३

काठमाडौँ ।  सरकारी प्रक्रियामार्फत बेलायत जान इच्छुक नेपाली नर्सको भर्ना प्रक्रिया बिहीबारबाट सुरु भएको छ । 

नेपाल र बेलायतले तोकेको मापदण्ड बमोजिम नेपाली नर्सका लागि बिहीबार (२० जुलाई) देखि आवेदन दिन पाउने बाटो खुलेको हो । पहिलो चरणमा सय जना नर्स लैजाने सहमति भएको छ ।

नेपाल र बेलायतबीच सरकारी संयन्त्रमार्फत नर्स लैजानका लागि २२ अगस्ट २०२२ मा श्रम सम्झौता भएको थियो । यो श्रम सम्झौता कार्यान्वयन गर्न प्रोटोकलमा सहमति भएपछि नर्स लैजाने प्रक्रियालाई कार्यान्वयनमा ल्याइएको हो ।

इच्छुक नर्सले वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत आवेदन दिन सकिनेछ । १९ अक्टोबर २०२३ सम्म आवेदन दिन पाइनेछ ।

नेपाल नर्सिङ काउन्सिलमा दर्ता भई दुई वर्षको अनुभव भएका २० देखि ४५ वर्ष उमेरका नर्सहरू भर्ना प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

भर्ना प्रक्रियामा स्टाफ नर्स, बीएन, बीएससी नर्सिङ, एमएन सहभागी हुन पाउने व्यवस्था गरिएको छ । प्रतिस्पर्धा गर्नका लागि अंग्रेजी भाषा परीक्षा आईईएलटीएसमा औसत ७ र ओईटीमा ‘बी’ अंक ल्याएको हुनुपर्नेछ ।

छनोट भएर गएका सहायक स्वास्थ्य हेरचाहकर्मीले बेलायत पुगेको ८ महिनाभित्र स्वास्थ्यसँग सम्बन्धित व्यवहारिक वस्तुपरक परीक्षा (ओएससीई) उत्तीर्ण हुनुपर्नेछ । यसका लागि उनीहरुलाई तीनपटकसम्म परीक्षामा सामेल हुने मौका दिइनेछ।

बेलायतमा जाने नेपाली नर्सले मासिक ४ लाख नेपाली रुपैयाँसम्म पारिश्रमिक पाउने भएका छन् ।

बेलायतको कानुनअनुसार लाइसेन्स लिएपछि नेपाली नर्सले वार्षिक ४८ लाख रुपैयाँ (२७ हजारदेखि ३२ हजार पाउन्ड) सम्म तलब पाउने सुविधा छ। -इकान्तिपुर 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू