शनिबार, साउन १२, २०८१
11:40 | १६:२५

एनआरएनए स्कटल्यान्डका संस्थापक मोहन-राज्य परिषद, एनसीसी हुँदै आइसीसीमा

नेपाली लिङ्क जुलाइ २०, २०२३

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको यही शनिबार हुने निर्वाचनमा आइसीसी सदस्यको चुनावी दौडमा छन् मोहन कार्की।

एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदको संस्थापक अध्यक्ष हुँदै दुई कार्यकालसम्म राष्ट्रिय समन्वय परिषद (एनसीसी) यूकेको उपाध्यक्ष रहेका उनी अब अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) को जिम्मेवारी बोक्न तत्पर छन्।

एनआरएनए यूके वृत्तमा ‘स्पष्टवक्ता’ को छवि बनाएका कार्कीसँग प्राप्त जिम्मेवारी निर्वाह गर्न सक्रियतापूर्वक खटिने स्वभाव छ।  

एनआरएनए यूके उपाध्यक्षका रुपमा नेपाली नागरिकता निरन्तरता विभाग संयोजक रहेका उनले नागरिकता निरन्तरताका पक्षमा नेपालका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्री, सांसदसहित उच्च पदस्थ अधिकारीहरूसम्म ‘लबिङ’ गरेका थिए।  

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा कोप–२६ सम्मेलनमा भाग लिन स्कटल्याण्ड आउंदा नागरिकता निरन्तरताको पक्षमा छलफल गरेका उनले नेपाल पुगेर तत्कालीन गृहमन्त्री, कानुन मन्त्री, परराष्ट्र मन्त्रीलगायतलाई ज्ञापनपत्र समेत बुझाएका थिए। कार्कीकै संयोजनमा नेपालबाट मन्त्री, सांसदहरूसँग एनआरएनए यूकेले कयौंपटक नागरिकता मुद्धामा अन्तरक्रियाहरु गरेको थियो।

स्कटल्यान्डमा एनआरएनए अभियान स्थापित गर्न ‘फ्रन्टलाइन’ मा रहेर अगुवाइ गरेका कार्की अन्य विभिन्न संघसंस्थामार्फत् पनि सामाजिक कार्यमा खटिंदै आएका छन्।

स्कटल्यान्डको फोर्थ भ्याली नेपाली एशोसिएसनका अध्यक्ष कार्कीले दुई कार्यकाल ग्लास्गो नेपाली एशोसिएसनमा समेत अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हालै दुई लाखभन्दा बढी व्यक्तिगत सहयोग गरेका कार्कीले स्कटल्याण्डका विभिन्न स्थानमा २० लाखभन्दा बढी रकम जुटाउन योगदान गरेका थिए। नेपालमा भूकम्पपछि व्यक्तिगत र संस्थागत रुपमा दश लाखभन्दा बढी सहयोग गरेका उनले कोभिड महामारीमा एनआरएनए यूकेबाट अक्सिजन कन्सन्ट्रेटरहरु पठाउने कार्यमा पनि अग्रणी भूमिका खेलेका थिए।

यसबाहेक कार्कीले छोरीको नाममा राजभिका फाउण्डेसन स्थापना गरेर विद्यालयहरूमा अक्षय कोष स्थापना गरेका छन्। सामाजिक सेवामा पुर्‍याएको योगदानको कदरस्वरूप उनले बेलायतको हाउस अफ लर्ड्सबाट समेत सम्मानपत्र प्राप्त गरेका छन्।  

एनआरएनए र अन्य सामाजिक कार्यप्रतिको अटुट लगाव र लामो अनुभवले कार्कीको आत्मविश्वास बढाएको छ। ‘सामाजिक जीवनमा पाएका हरेक जिम्मेवारी पूरा गर्न इमान्दार बनेर खटिएको छु र समाजले महशुस गर्ने गरी नतिजा निकाल्न सफल छु भन्ने विश्वास छ’, उनी भन्छन्, ‘अझै बढी योगदान गर्छु भनेर फेरि बेलायतवासी नेपालीमाझ आएको छु। पक्कै साथ, समर्थन पाउनेछु भन्ने आशा लिएको छु ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू