शनिबार, साउन १२, २०८१
02:50 | ०७:३५

गोर्खाका एजेन्डा बोकेर एनआरएनए आइसीसी सदस्यको चुनावी मैदानमा चन्द्र गुरुङ

नेपाली लिङ्क जुलाइ २०, २०२३


लन्डन। एनआरएनए यूकेको यही शनिबार जुलाइ २२ मा हुने निर्वाचनमा आइसीसी सदस्य पदका उम्मेदवार लेफ्टिनेन्ट रिटायर्ड चन्द्रबहादुर गुरुङप्रति बेलायतस्थित नेपाली समुदायले समर्थन जनाएको छ ।

बुधबार बेलुका भर्चुअल जुममार्फत् आयोजित ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा उनको उम्मेदवारीमा समुदायका विभिन्न क्षेत्र र तप्काबाट समर्थन व्यक्त भएको हो ।

गैरआवासीय नेपालीहरुको अन्तरराष्ट्रिय सञ्जालमा गोर्खाहरुको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रमुख एजेन्डासहित अघि बढेका गुरुङप्रति भूतपूर्व गोर्खाका प्रमुख संघसंस्थाले ऐक्यबद्धता जनाएका छन्।

कार्यक्रममा बिजीडब्लुएस अध्यक्ष मेजर टिकेन्द्र दल देवान, गेसोका कार्यवाहक सभापति धर्म तामाङ, गोर्खा पेन्सन इन्जस्टिस अभियानका संयोजक मेजर उदयबहादुर गुरुङ एमबिईलगायतले उनलाई गोर्खाहरुका साझा उम्मेदवारका रुपमा समर्थन व्यक्त गरे।

एनआरएनए आइसीसीको २०१९–२१ कार्यकालमा गोर्खा टास्कफोर्स् संयोजकका रुपमा गुरुङले निर्वाह गरेको रचनात्मक भूमिकाको प्रशंसा गर्दै उनीहरुले आइसीसी सदस्यका रुपमा उनीबाट झन् व्यापक र सार्थक योगदान अपेक्षा गरेको बताए।

सो अवसरमा एनआरएनए यूके वृत्तका अग्रज एवम् प्रभावशाली अभियन्ताहरुले पनि आइसीसीमा गुरुङको उम्मेदवारी जायज भन्दै समर्थन गरे।

एनआरएनए यूके आसन्न निर्वाचनमा अध्यक्ष पदका तीनै जना उम्मेदवार डा नारायण कंडेल, दिनेश घिमिरे र हित काजी गुरुङ, पूर्व अध्यक्ष पुनम गुरुङसहित कयौं अभियन्ता उनलाई शुभकामना दिन कार्यक्रममा सहभागी भएका थिए।

त्यसबाहेक बेलायतस्थित दर्जनौं सामाजिक संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले पनि गुरुङलाई साथ, समर्थन जनाउंदै सफलताको शुभकामना दिए।

सो अवसरमा आफ्नो मन्तव्य राख्दै उम्मेदवार गुरुङले प्राप्त सद्भाव र शुभेच्छाका लागि आभार प्रकट गरे । सामाजिक कार्यलाई विशुद्ध स्वयमसेवाका रुपमा लिएको भन्दै उनले आफूमाथिको सबैको अपेक्षालाई न्याय दिने गरी इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता गरे ।

कृष्ण गुरुङले सञ्चालन गरेको कार्यक्रममा उनलाई शुभकामना दिन मिडल्याण्ड, स्कटल्यान्ड, वेल्सलगायत क्षेत्रबाट समेत एनआरएनए अभियन्ता र समुदायका प्रतिनिधि भेला भएका थिए ।

एनआरएनए यूकेमा सन् २०११ देखि प्रायः सबै कार्यसमितिमा सल्लाहकारको भूमिका निर्वाह गरेका छन् गुरुङले । कुमार पन्त अध्यक्ष रहेको आइसीसीको २०१९–२१ कार्यकालमा गोर्खा टास्कफोर्स् संयोजकका रुपमा उनले गोर्खाहरुको बंशजको नागरिकताको पक्षमा उच्चस्तरीय राजनीतिक तहमा लबिङ र अन्तरक्रिया गराएका थिए।

परोपकारी कार्यहरुमा पनि लामो समयदेखि क्रियाशिल छन् गुरुङ । चार भञ्ज्याङ तमु समाज यूकेलाई अध्यक्षका रुपमा दुई कार्यकाल नेतृत्व दिएका उनी समाजको अन्तरराष्ट्रिय समन्वय परिषदका संस्थापक हुन् ।

एनआरएनएसंगकै सहकार्यमा गुरुङले पर्वत, कास्की तथा धादिङ र नुवाकोटको सिमानामा पर्ने तीन विकट क्षेत्रमा टेलिमेडिसिन सेवा स्थापना गर्ने अभियानको अगुवाइ गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू