शनिबार, साउन १२, २०८१
06:04 | १०:४९

किन एनआरएनए यूके सहकोषाध्यक्ष बन्न चाहन्छन् सक्रिय युवा अभियन्ता हेम ?

नेपाली लिङ्क जुलाइ १८, २०२३


लन्डन। बेलायतको नेपाली समुदायमा क्रियाशिल युवा अभियन्ता हुन् हेम गुरुङ। हरेक सामाजिक कार्यमा सक्रिय उनी यतिबेला भने एनआरएनए यूके सह-कोषाध्यक्षको चुनावी मैदानमा उत्रिएका छन् ।

एनआरएनए यूकेको सन् २०२३-२०२५ कार्यसमितिको सहकोषाध्यक्ष पदका उम्मेदवार गुरुङले संस्थामा खड्किंदै आएको आर्थिक पारदर्शितालाई नै आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।

संस्थामा पारदर्शिता कायम गर्ने र आपसी मतभेदहरु हटाएर एकताबद्ध पार्ने अभियान नै आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

एनआरएनए यूकेमा सन् २०१९-२०२१ कार्यसमितिमा सदस्यका रुपमा काम गरिसकेका गुरुङ त्यसअघि संस्थाको सल्लाहकार थिए।

कार्यसमिति सदस्य र सल्लाहकार हुँदा होस् वा कुनै पदमा नहुंदा नै किन नहोस्, संस्थाका हरेक अभियान र कार्यक्रममा उनको प्रशंसायोग्य सक्रियता रहंदै आएको छ।

कोभिड महामारी उत्कर्षमा पुगेका बेला आफ्नै स्वास्थ्यको जोखिम मोलेर समेत उनी एनआरएनए यूकेद्वारा उपलब्ध सुरक्षा सामग्री बांड्न अल्डरसट, फार्नबरोमा नेपालीहरु बस्ने घरघरमा पुगेका थिए।

एनआरएनए यूकेमा निरन्तर सक्रिय गुरुङ अन्य सामाजिक संस्थाहरुमा आबद्ध रहेर पनि सामाजिक कार्यमा खटिंदै आएका छन् ।गोर्खाली समाज यूकेमा उनले तीन कार्यकालसम्म उपाध्यक्षको जिम्मेवारी सम्हालेका छन्।

एनआरएनएमा राम्रोसँग भिजेका गुरुङले बेलायत मात्र नभइ अन्य मुलुकका एनआरएन र आइसीसीसँग पनि बलियो र निकट सम्बन्ध बनाएका छन्।

समुदायको लागि निस्वार्थ सेवा गर्ने आफ्नो अटुट आकांक्षाका कारण एनआरएनएमा लागेको उनी बताउँछन्। सोही आकांक्षा  पूरा गर्न बेलायतवासी सम्पूर्ण नेपालीले अमुल्य मतमार्फत् साथ दिने उनले आशा लिएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू