शनिबार, साउन १२, २०८१
06:44 | ११:२९

एनआरएनए यूके निर्वाचन समितिको ‘गोपनीयता’ प्रति ध्यानाकर्षण

नेपाली लिङ्क जुलाइ १२, २०२३

लन्डन । एनआरएनए यूके निर्वाचन अनुगमनको जिम्मेवारी पाएका युरोप क्षेत्रीय उपसंयोजक दयानिधि सापकोटाले निर्वाचन समितिले नै गोपनीयता कायम गर्न नसकेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

युरोप संयोजकद्वय चिन्तामणी सापकोटा र सन्तोष भट्टराईले गत साता एक पत्रमार्फत २२ जुलाईमा हुने एनआरएनए यूकेको निर्वाचन अनुगमन गर्न सापकोटालाई जिम्मा दिएका थिए ।

केन्द्रको सर्वसम्मत निर्णय बमोजिम आफूले निर्वाचन समितिसमक्ष अपडेट हुन पत्राचार गरेको विषयलाई बलजफ्ती बंग्याएर एनआरएनए मुखपत्र ठानिने लण्डनको एक वेवसाइटमा समाचार आएपछि सापकोटाले तीव्र असन्तुष्टि जनाएका हुन् ।

‘मैले अनुगमनको जिम्मा पाएपछि निर्वाचन समितिसंग अपडेट माग्ने कि नमाग्ने ?’ सापकोटाले प्रश्न गरे, ‘एक वेवसाइटका अनुसार मैले संघको कार्यविधि र नियमावली विपरित एनआरएनए यूके निर्वाचन समितिको कामलाई प्रभावित गर्न अनावश्यक पत्राचार गरेको भनिएको रहेछ । यो विल्कुल भ्रामक र गलत छ । यसले निर्वाचन समितिको विश्वसनीयता त घट्छ नै, समाजलाई दिग्भ्रमित समेत पार्ने भएकाले म यस्ता गतिविधिको घोर निन्दा गर्दछु ।’

सापकोटाले यस्ता समाचारबाट भ्रमित नहुन पनि बेलायतको नेपाली समुदायसमक्ष अपिल गरेका छन् ।

सापकोटाले ‘राष्ट्रिय महाधिवेशन सञ्चालन तथा समन्वय परिषद सम्बन्धन सम्बन्धि नियमावलीको ५.१६ बमोजिम’ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट एनसीसी बेलायत (यूके) को निर्वाचन तथा अधिवेशन अनुगमनको जिम्मा पाएकाले सोही बमोजिम इमान्दारपूर्वक काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

एनसीसी यूकेसंग समन्वय गरेर केन्द्रिय सहमति कार्यान्वयनमा प्रयास गर्दै निर्वाचन र अधिवेशन सम्बन्धी प्रक्रियाको अनुगमन गरी महाधिवेसन अनुगमन अनुसूची १, अनुसूची २ र अनुसूची ३ बमोजिमको फाराम भरी संयोजकहरुलाई एवं अन्तर्राष्ट्रिय समन्वय परिषदमा पठाउने अभिभारा सापकोटालाई दिइएको छ ।

सापकोटाबाहेक अहिले उक्त जिम्मेवारी उपमहासचिव रामशरण सिम्खडालाई पनि दिइएको छ ।

एनआरएनए यूकेको २२ जुलाईमा हुने निर्वाचनका लागि निर्वाचन समितिमा संयोजक चिरन्जिवी ढकाल र सदस्यहरु हरि गुरुङ र विपिन निरौला छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू