शनिबार, साउन १२, २०८१
07:13 | ११:५८

एनआरएनए यूके सहकोषाध्यक्ष उम्मेदवार सुमन तीन प्रमुख एजेण्डासहित मैदानमा

नेपाली लिङ्क जुलाइ ८, २०२३

लन्डन । एनआरएनए यूकेको निर्वाचन नजिकिंदै गर्दा यहां चुनावी रौनक बढेको छ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएसंगै निर्वाचनको माहोल तातेको हो ।

यसै क्रममा सहकोषाध्यक्षका उम्मेदवार युवा व्यवसायी सुमन शर्मा (सोहन) आफ्ना एजेन्डासहित आएका छन् ।

एनआरएनए यूके सदस्यमा अत्यधिक मतले निर्वाचित भएका सुमनले संस्थामा आर्थिक पारदर्शीता कायम गर्न, एनआरएन अभियानमा युवाहरुलाई आकर्षित गर्न र ‘हाम्रो एनआरएन राम्रो एनआरएन’ बनाउने योजनासहित आफूले उम्मेदवारी दिएको बताए ।

संस्थाको छवी खस्किइरहेका बेला युवा संलग्नता र उनीहरुको भिजनलेमात्र संस्थागत सुधार हुन सक्ने उनी बताउंछन् ।

‘हो संस्थामा धेरै चुनौति छन्, आर्थिक पारदर्शीताको कुरा पनि छ । तर हामी भागेर होइन संस्थाभित्रै रहेर केही परिवर्तन गर्न सकिने आत्मविश्वासले म चुनावी मैदानमा छु’, उनले भने ।

एक कार्यकाल संस्थाभित्र रहेर धेरै अनुभव बटुलेको उनले बताए । ‘संस्था जतिसुकै संकटबाट गुज्रिंदा पनि म कहिल्यै विचलित भइन’, सुमनले भने, ‘सामाजिक काम स्वार्थबाट प्रेरित हुनुहुन्न भन्ने मेरो मान्यता छ ।’

उनले मतदातासमक्ष आफूलाई मत दिन पनि अपिल गरेका छन् । एनआरएनए यूकेको निर्वाचन २२ जुलाईमा हुंदैछ ।

सन् २००९ मा बेलायत आएका बाग्लुङ निवासी सुमन लन्डनका कयौं शहरमा आउटलेट रहेको ‘होली काउ’ चेनमा व्यवसायिक सेफका रुपमा कार्यरत छन् ।

उनी नेपलिज सेफ एसोसिएसन यूकेसहित अन्य कयौं सामाजिक काममा समेत सक्रिय छन् । च्यारिटी होस् वा आपतविपत, ‘लाइमलाइट’ मा नआइ काम गर्ने उनको स्वभाव छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू