शनिबार, माघ १४, २०७९
04:13 | ०९:५८

पत्रकारको सम्मानमा एनआरएनको किन कन्जुस्याईं ?

डिल्लीराम अंमाई जनवरी १६, २०२३

डिल्लीराम अंमाई

नेतादेखि कलाकर्मी, सरकारदेखि अख्तियार, सार्कदेखि यूएनओ साथै संसारका माथिल्ला वैधानिक निकायहरुले प्यारो गरी संवोधन गरिने एउटा कर्मीको नाम हो “सञ्चारकर्मी । भनिन्छ, २४ घण्टमा संसारभरका यिनै कर्मीहरुले आफ्नो कलममा चावी लगाइदिए भने त्यो समयभित्र संसारभर विजुली प्रवाह रोकिएभन्दा बढी नोक्सानी हुन्छ । दुर्घटना स्तरको त सीमै रहँदैन ।”

त्यसैले विकसित देशहरुमा पत्रकारिताको महत्वलाई शरिरमा हुने संवेदनशील सूचना संचालक नशा (नर्भ) संग तुलना गरिएको छ । शरिरमा उक्त अंगले काम गर्न छाड्यो भने सम्पूर्ण शरिर निर्जिव जस्तै हुन्छ । अन्य कुनै अंगले काम गर्नै सक्दैन ।

त्यहि कार्य महत्वानुसार त्यसको जिम्मेवारी र प्रभावकारितालाई पनि शरिरले सम्मान दिएको छ । विकसित देशहरुमा पत्रकारलाई उसको क्षेत्र अनुसार सुचनाको गम्भीर सामाजिक दायित्व सुम्पेको पनि छ ।

संसारभर पत्रकारको विश्वसनीयतालाई अनुसन्धान कर्मीको प्रतिवेदनभन्दा बढी मान्यता दिइन्छ । सामान्यतया अपराध अनुसन्धान गर्ने आधारभूमि पनि पत्रकारको कलम नै हो भन्दा हुन्छ । राज्यको हात नपुगेका सामाजिक, राजनैतिक र आंतककारी गतिविधीका विकृत शाखाहरुसम्म आफ्नो पहुँच पुर्याएको हुन्छ पत्रकारले ।

त्यसैले पत्रकारको कलमभित्र अपराध अनुसन्धानको सकरात्मक झिल्का झिल्कीहरु प्रशस्त भेटिन्छन् र त्यसैको आधारमा अनुसन्धानकर्मीहरुले आफ्नो गोरेटो तय गर्दछन् । त्यसैले एउटा पत्रकारलाई सूचनावाहकको रुपमा मात्र नभएर राज्यको अत्यन्त सम्मानित अनुसन्धान कर्मीको रुपमा समेत हेरिन्छ । भन्नै पर्ने हुन्छ संसारभर रहेका धेरै नेपाली संघ संगठनहरुले यी कर्मीहरुलाई सम्मान दिनु त कता हो कता एउटा तलवी गार्डलाई जत्तिको पनि महत्व दिएको देखिएन । यसबारेमा हामीसंग धेरै उदाहरणहरु छन्।

उदाहरण

१) बेल्जियम वा अन्य देशका संघ संगठनहरुले नेपाल पत्रकार महासंघका कुनै पनि शाखालाई आतिथ्यताको लागि औपचारिक निमन्त्रणा गर्दछन्। तर सम्बोधन गर्ने बेलामा कि त संगठनको नाम नै भनिंदैन भन्नै परे पुछारतिर त्यो पनि कसैले चिट दियो भने सम्बोधन हुन्छ। तर कार्यक्रमको तयारी र सम्पन्न भइसकेपछि सर्वप्रथम मिडियाकर्मी खोजिन्छ। यसका सयौं अनुभव छन्।

२) २०१५ मा सम्पन्न एनआरएनएको कोपनहेगेन क्षेत्रीय बैठकमा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष आदरणीय सूर्यमणी गौतम , के.स. रोशन पुरीलाई निम्ता दिएर नेपालबाट बोलाइयो तर न उनीहरुलाई कुनै सम्मान दिइयो न सम्बोधन गरियो । युरोपमा पत्रकार महासंघको शाखा थियो । त्यो संग कुनै संयोजन नगरि नेपालबाट त्यति धेरै सञ्चारकर्मीहरु बोलाएर अत्यन्त अपमान गरियो। आखिर अहिलेसम्म एनआरएनएले त्यो अपमानजनक ब्यवहारका लागि माफी मागेको छैन किन ? यसको उत्तर कसैसंग छ जस्तो लाग्दैन ?

बेल्जियमको एनआरएनएको पनि अवस्था त्यही छ । निश्चित समयमा पाशा पुच, तमु समाज, तमु धिं लगायतका जातिय सामाजिक संगठन, जनप्रगतिशील मञ्च र मोर्चा लगायत भातृ संगठनहरुको अधिवेशन भइरहन्छ । पत्रकारलाई नदिई नभएर दुःख सम्मत निम्तो दिइन्छ ।

पत्रकार महासंघका प्रतिनिधि लुरुलुरु कार्यक्रममा जान्छन् । तर विचरा सम्मान त कता हो कता टोले समितिको नाम भनिसकेर उसको मर्यादाक्रमको ख्याल नगरी बल्लतल्ल पत्रकार महासंघको कतैकतै नाम लिइन्छ कतै लिईंदैन । हालत अहिलेसम्म त्यो भन्दा फरक छैन। यो मान खोजेर भन्दा पनि दोहोरो सम्बन्धका आधारहरुबारे समिक्षामात्र गरिएको हो भनेर बुझौँ।

पत्रकार भ्याएसम्म पदाधिकारीहरु सांगठानिक प्रतिनिधित्वका लागि र संवाददाता गतिविधिको रिपोर्टिङको लागि जानु पर्छ। संवाददाताले आफ्नो काम गर्छन्, त्यसको मतलव भएन तर अतिथिको रुपमा संगठनको प्रतिनिधित्व गर्दै आएका प्रतिनिधिको मर्यादाक्रमबारे आयोजकलाई वास्तै हुँदैन।

सांगठानिक मर्यादाक्रमबारे ख्याल गरिदिने आयोजकको काम हो । पत्रकार महासँघको युरोप शाखा भनेको एनआरएनएको युरोप क्षेत्रिय समितिको समान मर्यादा स्तर र हैसियतको हो भनेर भनिरहन नपर्ला । त्यस्तै एनआरएनएको राष्ट्रिय परिषद भन्दा महत्व बोकेको नेपाल पत्रकार महासंघ र त्यो नभएको ठाउँमा पत्रकार संजाल हो। सके एनआरएनए भन्दा अगाडि महासंघको नाम आउनु पर्छ नभए एकैसाथ आउनु पर्छ। त्यो कुरा आयोजकले पत्रकारले भन्नु अगावै जान्ने कुरा हो ।

हुन त निम्तै नदिए पनि पत्रकारहरु कार्यक्रममा सकेसम्म पुग्नु पर्ने हुन्छ । पत्रकारले कुनै ठाँउमा गएर समाचार संकलन गर्न कसैको आदेश कुरि रहंदैन । निम्तो कुर्ने त कि निम्तालु प्रतिनिधि वा पाहुनाले हो । पत्रकार जुनसुकै पार्टी संघ संगठनको समाचार सम्प्रेषणमा लाग्ने हुनाले कसै कसैले पत्रकारलाई “सदावहार विपक्षी” को संज्ञा पनि दिएका छन् । उसले सूचनामा अन्याय गर्दैन वा गर्नै हुँदैन । सूचनामा कुनै पनि मोल तौल गरी कसैको प्रभावले सूचनाको सानो अंशमा पनि लुकाइन्छ भने त्यो समाज प्रतिको अन्याय र घोर अपराध हो । उसले सम्प्रेषण गरेका पत्रकारिता पीत पत्रकारिता भित्र पर्दछ ।

त्यो रिपोर्टिंगको पाटो भयो। आतिथ्यताको पाटो र त्यसको कर्म अलिक फरक हुन्छ। संघ संगठनले निम्तो दिएको ठाँउमा अतिथि हुन आफ्नो संरचनाको मूली वा संगठनले तोकेको प्रतिनिधिलाई पठाउँछ। संसारभरको प्रचलन अनुसार पठाएको पत्रकार प्रतिनिधिको मर्यादाक्रम राजदूत पछिको हुन्छ। उसले जो सुकैलाई तोकेपनि उसको मर्यादाक्रम माथि अन्याय गर्न पाईदैन ।

जानाजान मर्यादा मिचिएको ठाउँमा बस्दा भन्दा नबस्दा स्वाभिमान झुकाउनु पर्दैन। किनकि सूचना वा समाचारको महत्वलाई संसारभर एक नम्मरमा राखिएको छ र सूचनाको वैश्विक रणनीति तय गर्ने भनेको पत्रकारहरुले नै हो। त्यसैले यति कुरा जानकारी गराउन आवश्यक यस मानेमा देखियो कि नेपाली संघ संगठनहरुले यसको महत्वलाई सम्झनु पर्ने ठाउँमा पर्गेल्न थाले। भन्नुस यो लेख सम्बन्धीत पक्षको लागि नैतिक दवाब पनि हो ।

मित्रहरुलाई थाहै भएको कुरा होकी पत्रकारलाई राज्यको सम्पूर्णताभित्रको चौथो भाग वा राज्य संयन्त्रको चौथो अंग मानिएको छ । यसको चौथो मर्यादाक्रमलाई कानूनी राज्य भएका धेरै देशहरुले मान्यता दिएका छन् । तर हाम्रो संघ संगठनहरुले पत्रकारलाई सवैभन्दा पहिलो कार्य (सूचना प्रवाह) को लागि खुब प्रयोग गर्दछन् । तर प्रतिनिधिको रुपमा निमन्त्रणा गरिसकेपछिको कार्यक्रममा संवोधन र सम्मान गर्दा शत्रुलाई झैँ अत्यन्त दरिद्र पारा देखाउँछन् ।

पत्रकार महासंघको हैसियत भनेको आन्तरिक मर्यादाक्रमको सूचीको अन्तिम पदावली हो भन्ने सोच्छन् क्यारे संघ संस्थाका सञ्चालकहरुले । पत्रकार शाखाका अध्यक्ष समुदायको सूचना क्षेत्रका अध्यक्ष हुन भन्ने कुरा संघ संस्थाहरुले वुझिदिएको भए पंक्तिकारले यति गफ दिनै पर्ने थिएन । तर अति भएपछि भन्न वाध्य हुनु परयो । अब त सम्बन्धित पक्षलाई लाज लाग्ला कि, वा कुन्नि ?

नाम नबताउँ, नयाँ वर्ष २०२३ आसपासको कार्यक्रममा पनि ५२ औं को सम्वोधनपछि दुःखजिलो गरेर पत्रकार महासंघ बेल्जियमका अध्यक्षको नाममा आसन ग्रहण गराइयो । पंक्तिकारलाई अति पीडाबोध भएर आयो ।

पत्रकारलाई वढी सम्मान चाहिएको हैन तर उनीहरुको महत्व र कार्यअनुसार सांगठनिक संरचना कुन स्तरको हो हेक्का राखेर मर्यादाक्रमलाई मिलाउनु पर्ने हुन्छ। यो सवाल, रिपोर्टिंगमा गएका पत्रकारको हकमा उठाइएको कदापि हैन। कुरा अतिथि पत्रकारहरुको सन्दर्भमा मात्र हो, जसलाई अधिवेशन वा उत्सवहरुमा औपचारिक निमन्त्रणा पठाएका हुन्छन्।

सन् २०१५ को कुरा हो, एनआरएनए कोपन्हेगेन क्षेत्रीय सम्मेलनमा आँफैंले निमन्त्रणा गरि नेपालबाट बोलाएका पत्रकारहरुको मान मर्दन गरिएको कुरा स्वयम् पत्रकारहरुको मुखबाट सुन्न पाइयो। पत्रकारका केन्द्रिय कोषाध्यक्षलाई सम्मेलनमा आशन ग्रहण पनि नगराई अपराधीलाई खानतलासी गर्न ठेलामा राखी हाकिमसामु उभ्याए जस्तो गरी हदैसम्मको अपमान गरियो।

त्यस्तै गतवर्ष भएको स्टकहोम बैठकमा त पत्रकारहरुले मागेको आधा घण्टा पनि दिइएन। कार्यपत्र लेखेर कार्यक्रम स्थल पुगेका पत्रकारहरु ’बिचरा’ बनेर फर्किए।
त्यस्तो संकीर्ण र दुःखदायी अवस्थाको भोगाइ र अवस्थाहरु धेरै ठाउँमा देखेर मैले यी अक्षरहरु कोरेको हुँ । मतलव, अरुको मर्यादाक्रमलाई ख्याल गर्न सकियो वा सूचनाकर्मीको महत्वलाई बुझ्न सकियो भने भावी पुस्ताले आयोजकहरुको मर्यादाक्रमलाई पनि पक्कै ख्याल राख्नेछन् । नत्र खाली अपमानकै लागि नेपालबाट किन पत्रकारहरुलाई बोलाई रहनु।

यसमा मैले के मात्रै खोजेको हो भने देश, समाज र संगठनका कार्यक्रमहरुमा मर्यादाक्रमलाई युनेस्कोले बनाएको मापदण्डमा आधारित रहेर व्यवस्थित गर्नै पर्छ । त्यसले नै समूहमा विश्वास र सामूहिकताको विकास गर्छ । मर्यादाक्रम कामको महत्ताले निर्धारण गर्ने कुरा हो। कामको महत्वमा तौलेर संघ संगठनहरुको मर्यादाक्रम मिलाउन संघ संस्थाहरुले पहल गर्नै पर्छ। यसले नै सवैसँग एउटा भावनात्मक सम्वन्धको विकासलाई विस्वासिलो नजिरको रुपमा स्थापित गर्नेछ ।

निष्कर्षः
हाम्रो मर्यादा क्रमबारे युनेस्कोले बोलेको छ। उसले सूचनाकर्मीहरुका आधार र आगामी कार्यभारबारे पनि बोलेको छ। साथै उपरिसंरचनामा हिँसाका विविध आयामको व्याख्यासहित सूचनाकर्मीको मर्यादाक्रमको शिमा पनि तोकेको छ।

संयुक्त राष्ट्र संघको विशेष निकाय युनेस्को जसले संसारभर न्याय, विधिको नियम एवं मानवअधिकार तथा मूलभूत स्वतन्त्रताबारे वैश्विक नीति निर्माण र अनुगमन गर्छ। यसको स्थापना १६ नोभेम्बर १९४५ मा हो । यसको निश्चित उद्देश्य संसारभर शान्ति र सुरक्षा, शिक्षा, विज्ञान एवं संस्कृतिको क्षेत्रमा योगदान दिनु रहेको छ ।

उसले पत्रकारहरुका लागि एक अलग्गै निर्देशन जारी गरेर ‘सार्वजनिक हितको रूपमा सूचना’ लाई निर्विवाद र भरोशायोग्य बनाउन विश्वभरिका पत्रकारहरुलाई आग्रह गरेको छ भने व्यवसायिक, स्वतन्त्र पत्रकारिताले संकटको समयमा समुदायलाई जीवन बचाउने जानकारी प्रदान गरेर महत्वपूर्ण योगदान पुर्याएको कुरालाई कसैले बिर्सन नहुने बताएको छ। यसको सोझो अर्थ हो समुदाय वा समुदायका अन्य संघसंस्था र पत्रकारहरुबिच दोहोरो र सम्मानपूर्ण सम्बन्ध हुनु पर्छ।

हरेक कार्यक्रममा सूचनाकर्मीसंग विश्वब्यापी मर्यादाक्रमको मापदण्डभित्र रहेर सम्मानपूर्ण सम्बन्ध स्थापित गर्नुपर्छ।
एनआरएनहरुले पनि बुझ्नु पर्छ कि पत्रकारहरु सार्वजनिक हितका लागि सूचना खोज्दै तपाइहरुको समिप आएका हुन्। तसर्थ साझा सार्वजनिक हितको रूपमा पत्रकारहरुलाई तपाईंहरुको सम्मानपूर्ण समर्थन चाहिन्छ।

महामारीले हामीलाई पत्रकारहरूको कामको मूल्य अझ उच्च देखाएको छ, र उनीहरूले हरेक दिन सामना गर्ने खतराहरू कम भएका छैनन् भन्ने कुरा छर्लंग पारेको छ । ज्ञात रहोस्, संसारभरी २००० भन्दा बढी पत्रकार कोभिड महामारीको कारण शहीद भएका छन्। त्यसका साथै द्वन्द्व र युद्धमा ज्यान गुमाउने पत्रकारहरुको संख्या पनि बढ्दो छ। समुदायलाई सुरक्षा सूचना प्रवाह गर्दा गर्दै संक्रमित भएर उनीहरुको ज्यान गएको हो।

कसैको धम्की, अपमान र ब्याक्तिगत सुरक्षाका कारण हामी डराएका छैनौं। कुनै पनि अपमान, कानूनी मुद्दा, कालो प्रचार र झूटले पत्रकारहरूलाई चुप लगाउन सक्दैन। बोल्न, भन्न, उत्खनन गर्न र कार्यपत्र प्रस्तुत गर्न नदिएर पत्रकारहरुका सूचना चियाउने क्यामरा र कलम रोकिने छैनन्।

तर पनि स्थानीय सन्दर्भलाई जोडेर अपमानजनक हिँसाका विरुद्ध केही कुरा भन्न बेलाबेलामा हामी वाध्य हुनु परेको छ। यो खाली प्रेमपूर्ण सम्बन्धका लागि हो, आपसी सम्मान र अझ बढी पारदर्शी सूचनाका हकहरुको सम्मानका लागि हो।

पत्रकारप्रतिको उनीहरुको नियत खास गरि अवसरवादी र भ्रष्ट नेतृत्वमा रहेकाहरुको नियतको कुरालाई पखाल्न हामीले धेरै ढोकाहरू ढकढक्यौं। विश्वासपूर्ण सम्बन्धका लागि हजारौं ढोका हजारौं पटक ढकढकायौं। सबैभन्दा गाह्रो कुरा मलाई लाग्छ, बुझ्ने बुझाउने कुरा भन्दा पनि नियत बदल्ने कुरा हो। सबैले बुझ्नु आवश्यक छ, अपमान पनि एउटा हिँसा हो,यसले मानिसलाई एकपटक हैन हजार पटक मार्छ।

संसारभरिको महत्वपूर्ण सूचनामा पत्रकारहरू 
फ्रन्टलाइनमा छन् र नागरिकलाई भरपर्दो र प्रमाणित जानकारी ल्याउन हरेक दिन आफ्नो सुरक्षालाई जोखिममा राख्छन्। उनीहरुको योगदान हामी सबैको लागि अमूल्य छ । तर धेरैसँग सुरक्षात्मक उपकरण र स्वास्थ्य सेवामा पहुँचको अभाव छ, र कसैलाई उनीहरूको स्वास्थ्य संकटको बाबजुद मानसिक हिंसाका साथै जीवनको अन्तिम मूल्य तिर्न वाध्य बनाइएको छ। हामी यो कठिन र खतरनाक समयमा मिडियाकर्मीहरू र उनीहरूका परिवारसंग ऐक्यवद्धतामा खडा छौं ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू